नौ बर्ष लगाएर निर्माण सम्पन्न भएको पुलले बढाएको पर्यटक



खोटाङ । राजधानी काठमाडौंलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो ।

निर्माण कार्य थालेको ९ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएपछि हिउँद वर्षा बाह्रै मास नदी वारपार गर्ने वातावरण बनेसँगै हलेसीमा दर्शनार्थी, पर्यटक ओइरिन थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

‘जयरामघाटमा पक्की पुल बनेसँगै सहजरुपमा सवारी साधनबाट सिधै दूधकोशी तरेर हलेसी आउने वातावरण बनेको छ ।’ उनले भने, ‘यसअघि सुनसान जस्तै हुने हलेसीमा पछिल्लो समय दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भीड लाग्ने गरेको छ ।’

मध्यपहाडी लोकमार्गले छोएका कारण हलेसी आउन सहज भए पनि पुलको अभावमा वर्षाको समयमा आन्तरिक तथा बाह्य दर्शनार्थी कम आउने गरेका थिए । जयरामघाटको पक्की पुल गत मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो ।

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको त्रिवेणीस्थल मानिने हलेसीमा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

हलेसीमा आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै व्यापार व्यवसाय पनि फस्टाउँदै गएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

‘विगत वर्षमा खाली रहने हलेसीका होटल अहिले भरिभराउ छन्’, उनले भने, ‘पर्यटक र दर्शनार्थीको संख्या बढ्न थालेपछि सुविधा सम्पन्न होटल खोल्नेक्रम पनि शुरु भएको छ ।’

धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुङ्देलोगुफा लगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिए ।

सदरमुकाम दिक्तेलबाट पश्चिमी क्षेत्रमा पर्ने हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीजलगायतमा ठूलो मेला लाग्ने गर्दछ । रासस


क्लिकमान्डु