अमेजनका मालिक बेजोस बने इतिहासकै सर्वाधिक धनी



काठमाडौं । जेफ बेजोसले इतिहासकै धनीको उपमा पाएका छन् । गत साता सम्मको अवधिमा अमेजनका सीईओको कुल सम्पत्ति १०५.१ अर्ब डलर पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ब्लुमबर्गका अनुसार उनको सम्पती माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यसअघि बनाएको रेकर्ड भन्दा पनि बढी हो । विश्वका धनीहरुको कुल सम्पत्तिको लेखाजोखा गर्दैै आएको फोब्र्सले पनि उनको सम्पत्ति १०४.४ अर्ब डलर भएको जनाएको छ ।

विश्वकै धनीको उपाधी बेजोसले सन् २०१७ को जुलाईमा पाएका थिए । उनले उक्त समयमा थोरै सम्पत्तिको अन्तरले बिल गेट्सलाई पछि पारेका थिए । अक्टोबरमा पुनः गेट्नै अघि परेका थिए । उनले पहिलो पटक १०० अर्ब डलरको सीमा नोभेम्बरमा पार गरेका थिए । बेजोसलाई फेरी अमेजनको सेयर मूल्यमा भएको वृद्धिले माथि पुर्याएको जनाइएको छ ।

बेजोसको सम्पत्तिको ठूलो हिस्सा अमेजनबाट आएको छ । अमेजनमा रहेको उनको सेयर संख्या ७ करोड ८९ लाख रहेको छ । सोमबार अमेजनको सेयरको मूल्यमा १.४ प्रतिशतले वृद्धि भएको थियो । यो वृद्धिसँगै उनको कुल सम्पत्तिमा १.४ अर्ब डलरको वृद्धि भएको थियो ।
यो वर्षको हालसम्मको अवधिमा अमेजनको सेयरमा झन्डै ७ प्रतिशतको वृद्धि भएको छ । गत वर्ष फर्मको सेयरमा ५६ प्रतिशतको वृद्धि भएको थियो ।

बेजोसको अन्य सम्पत्ति वासिङटन पोष्ट र अन्तरिक्षमा पर्यटक लैजाने निजी अन्तयरिक्ष यात्राको व्यवसाय गर्दैै आएको ब्लू आरिजिनमा रहेको छ ।

माइक्रोसफ्टका संस्थापकको कुल सम्पत्ति हाल ९१.९ अर्ब डलर भएको फोब्र्सले जनाएको छ । ब्लूमबर्गले उनको सम्पत्ति ९३.३ अर्ब डलर भएको जनाएको छ । फोब्र्स र ब्लूमबर्ग दुवैको सूचीमा बेजोस पहिलो गेट्स दोस्रो धनी भएका छन् ।

फोब्र्सले गेट्सको सम्पत्ति १९९९ को अप्रिलमा १०० अर्ब भन्दा थोरै माथि भएको जनाएको थियो । मुद्रास्फीतिको समायोजन गरेर हेर्ने हो भने उनको त्यति बेलाको सम्पती १४८ अर्ब डलर हुन आउँछ ।

गेट्से माइक्रोसफ्टको ७० करोड सेयर परोपकारी काममा दान गरेको ब्लूमबर्गले जनाएको छ । अहिलेको आधारमा उनले दान गरेकोसम्पत्ति २.९ अर्ब डलर हुन आउछ ।


क्लिकमान्डु