दैनिक २०० जनाले मात्रै लाईसेन्स आबेदन दिन पाउने, यसरी भर्नुस् अनलाईन फारम



काठमाडौं । सवारी चालक अनुमतिपत्रको लागि अनलाईन मार्फत दैनिक २ सयले मात्रै फर्म भर्न सक्ने भएका छन् । सरकारले सवारीचालक अनुमतिपत्र वितरणमा अत्यधिक भिडभाड भएको भन्दै अनिवार्य रुपमा अनलाइनबाटै आवेदन दिने व्यवस्था सुरु गरेको हो ।

कर्णाली बाहेक अन्य सवै कार्यालयमा अनलाईन अनिवार्य गरिएको हो । जसमा दैनिक २ सयले मात्रै आवदेन दिन पाउने छन् ।
कार्यालयमै पुगेर आवेदन दिनुपर्ने व्यवस्थाको अन्त्य मंगलबारदेखि कार्यान्वयनमा आएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले लाइसेन्सको वर्ग ‘ए’ (मोटरसाइकल), ‘के’ (स्कुटर) र ‘बी’ (कार/जिप)को नयाँ र वर्ग थपको अनलाइन दरखास्त दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

यसरी भर्न सकिन्छ अनलाईन मार्फत फर्म
यातायात व्यवस्था विभागले मातहतका सवारी चालक अनुमतिपत्र कार्यालयलाई परिपत्र गरी पुस २५ गतेदेखि विभागको वेबसाइटमा रहेको अनलाइन फारम सिस्टम सञ्चालनमा ल्याएको छ ।

विभागले लाइसेन्सको वर्ग ‘ए’ (मोटरसाइकल), ‘के’ (स्कुटर) र ‘बी’ (कार/जिप)को नयाँ र वर्ग थपको अनलाइन दरखास्त दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । अञ्चल कार्यालयका अनुसार दैनिक कोटा फरक-फरक रहेको छ । दुवै वर्गका लागि निश्चित कोटा तोकेर अनलाइनबाट नै आवदेन दिन सकिने व्यवस्था मिलाइएको छ ।

अनलाइनमा आवेदन दिँदा आवश्यक विवरण भरिसकेपछि दैनिक कोटा सकियो भने त्यसपछिको कार्यालय खुल्ने दिनको मिति आवेदकले पाउने व्यवस्था गरिएको छ । मेची अञ्चल कार्यालयका लागि मोटरसाइकल र स्कुटर (वर्ग ए र के) को दैनिक कोटा २ सय र वर्ग बीको १ सय आवेदन रहेको छ ।

उदाहरणका लागि मेचीमा फारम भर्दा आइतबारका लागि मोटरसाइकल र स्कुटरको २ सय कोटा छ । भने त्यो सकिएमा सोमबारका लागि आवेदन दिनेले कन्फर्मेसन कोड पाउनेछ र ऊ त्यो दिन कार्यालयमा गएर प्रक्रियामा समावेश भई कार्यालयले तोकेको मितिमा लिखित र प्रयोगात्मक परीक्षामा सहभागी हुन सक्ने व्यवस्था मिलाएको छ । लिखित र प्रयोगात्मक परीक्षा एक साताभित्र सकिसक्ने गरी व्यवस्था मिलाउन मातहतका कार्यालयलाई विभागले निर्देशन दिएको छ ।

अनलाइन फारम भरी दर्ता नंबर लिई आएका सेवाग्राहीको मात्र दरखास्त दर्ता (बायोमेट्रिक, मेडिकल र परीक्षा शुल्क लिन) गर्ने र परीक्षार्थीको संख्याको आधारमा तोकिएको समयमा परीक्षा (लिखित र प्रयोगात्मक) सञ्चालन गरिने छ ।


क्लिकमान्डु