दुनियाँले स्वर्ग देखेको मुस्ताङ पुग्दा…




योजना थियो- पोखरा पुगेर धाम्पुस लाग्ने । बिहानैदेखि म अजिव हुँदै थिएँ, सम्झु र आलोहीले मलाई झुन्डाउन मात्र बाँकी थ्यो । दश बजे भेट्ने योजना बनाएर १२ बजे बानेश्वर जो पुगेको थिएँ ।

कलङ्कीबाट गाडी चढेदेखि नै मन अचम्मको भैरहेको थियो । बसमा सम्झु र आलोहीसँगै बसे, म छुट्टै सिटमा बसेँ । सधैँझैँ साथी बन्यो, एउटा किताब । आफ्नै सुरमा पढिरहेको थिएँ, साइडको सिटमा एउटा केटो थियो ।

बेलाबेलामा सम्झु र आलोहीसँग गफ गर्दै यात्रा अगाडी बढ्दै थियो । बीचतिर पुगेपछि म किताब बन्द गरेर झ्याल बाहिर हेर्दै थिएँ । त्यो केटोले मसँग किताब माग्यो र पढ्न थाल्यो । भनौँ एउटा इम्प्रेसन जमायो । बाटो यत्तिकै बित्दै थियो, सम्झु र आलोही मलाई जिस्क्याउँदै थिए ।

पढ्दा पढ्दै त्यो केटाले मलाई हेर्दै भन्यो, ‘कस्तो राम्रो किताब ! मज्जाले निन्द्रा लाग्ने ।’

इम्प्रेसन सब झ्वाम…।

म फेरि चुप लागेर बाहिर हेर्न थालेँ ।

फेरि एकैछिनमा सोध्यो, ‘तिमी पोखराको हौं ?’

मैले नमिठो अनुहार पारेर भनेँ, ‘हैन ।’

अनि फेरि प्रश्न तेर्स्यायो, ‘कहाँकी हौं त ?’

मैले झर्किँदै किन चाहियो भनेँ ।

अझै पनि चुप लाग्ने छाँटकाँट नदेखाई सोध्यो, ‘कतिदिन बस्छौ पोखरा ?’

मलाई झर्को लाग्न थालिसकेको थियो, तेसैले छुद्रताको हद पार गरेर ‘किन भन्नुपर्यो भन्दिनँ’ भनेँ ।

 

ऊ चुप लाग्यो । मनमनै चैँ छ्या, म कति रुष्ट भएको जस्तो लागिराथ्यो । तर, ह्या भनेर चुप लागेँ ।

मनकामनामा गाडी रोकेको मौका पारेर हामीले काँक्रो खायौँ, काक्रोसँगै खाएको नून खूर्सानी एकदम पिरो भयो । मैले सम्झुसँग पानी मागेँ । हामीसँग भएको पानी सक्किएको रहेछ । गाडी पनि हिँडिसकेकोले किन्न पाउने कुरै भएन ।

रातोपिरो भएको मेरो मुख देखेर त्यो केटोले आफूसँग भएको पानी मतिर सार्दै भन्यो, ‘ल खाऊ, कम हुन्छ पिरो ।’

भएजति लाज सरम सब पचाएर पानी पिएँ । तेत्तिकैमा त्यो केटो बसबाट ओर्लियो ।

सम्झु र आलोहीले मलाई हेर्दै एकैस्वरमा जिस्क्याए, ‘अब्बे ओए, गयो त तेरो दिवाना? रोएकी त छैनस् नि ।’

सबैजना एकअर्कालाई हेर्दै खितिति हाँस्यौँ ।

पोखरा पुगियो । आधा बाटोतिर पुग्दै हाम्रो दिमाग भुट्टिन थालिसकेको थियो, धाम्पुस छोडेर मुस्ताङ लाग्ने कि भनेर । तर, टुङ्गो कही थिएन । सम्झु र आलोहीले निक्कै दुख कष्ट गरेर मुस्ताङ जाने प्रबन्ध मिलाए ।

मैले सपनाको संसार बाचेँ ।

………………………………
बिहानै उठेर तातो रातो सेल र चिया खाएर मुस्ताङ जाने गाडीमा बस्यौँ । जिरो भन्ने ठाउँबाट बाँकी मान्छे चढ्नेवाला थिए । हामी बीचको सिटमा थियौँ । जिरो भन्ने ठाउँमा गाडी रोक्ने बित्तिकै ती मान्छे कराउन थाले, ‘हामीले बीचको सिट भनेको थियौं, हामी त लास्टमा बस्दैनम् आदि इत्यादि ।’

तिनीहरुको बकबक सुन्नु सट्टा हामी सिट छोड्दिन्छौँ भनेर हामी गाडीबाट उत्रियौँ । गाडीबाट उत्रेर म छतमा सामान मिलाउन चढेँ ।

त्यत्तिकैमा एकजना बुढी आमा आलोहीको नजिकै आएर उसलाई नियाल्दै भनिन् ‘नानी यति छोटो कट्टु लाएर छोरो मान्छे जसरी हिँडिछेऊ, अब बुहारी ल्याउनु पर्छ ।’

हामी मरिमरि हास्यौं ।

आलोही अगाडी ड्राइभरसँगको सिटमा बसी, म र सम्झु लास्ट सिटमा बस्यौं । लास्ट सिटमा हामी बाहेक दुईजना ट्रेकिङ गाईड थिए । यात्रा अगाडी बढ्यो । बीचको सिटमा बसेका थिए तिनजना महिला (कामकाज केही नभएका फतौरे आइमाई), एउटा सानो बच्चो र एउटा लोग्ने मान्छे ।

त्यो लोग्ने मान्छे जसलाई हामीले गोथे ज्वाईँको रुपमा देख्यौं । त्यसकी बुढी, ज्वाईँको करकरे सासु र अर्की टठौरी सानिमा सासु । जबदेखि गाडी अगाडी बढ्यो त्यो परिवारको कुरा कटाई सुरु भो ।

भएजति आफन्त र नातागोताको कुरा काटिसकेर तिनीहरु आआफ्ना छिमेकीको, कुन्नी कसको हो कुरा काट्दै थिए ।

सम्झुले चर्को स्वरमा भनि, ‘तिर्थ हिँडेको गाडी किन पल्टिन्छ धेरै भन्या त यस्तै मनभरि पाप बोकेका जाँदा रछन् र पो त !’ त्यो ब्यांग्यको खास्सै असर देखिएन ।

त्यो गोथे ज्वाईँको परिवार यति चर्को स्वरमा कराउन थाले कि ड्राइभर दाइ नि रिसाउन थाल्यो । जता मन्दिर देख्यो तेतै ‘रोकौं गुरुजी, दर्शन नगरी जानहुन्न’ भन्थे । तर, गाडी कतै रोक्किएन । न त तिनको कुरा काट्ने सिलसिला नै थामियो ।

हामीसँग तिनको कुरा सुन्नु बाहेक अरु कुनै उपाय पनि थिएन, इयरफोनको फूल भोल्युमले नि थामेन ।

एक एक पैसाको हिसाब निकाल्ने मिस सिए (ओके आलोहीको) अनुहार हेर्न लायक भयो । जब कुरै कुरामा त्यो गोथे ज्वाईँकी सासुले तीनचोटीसम्म ३५ सय ३५ सय ६ हजार भनिन् । पारी डाँडातिर केही सेतो कुरा देख्नै हुन्नथ्यो, हिउँ भन्थे । त्यती औडाहा कुरा त कस्सम, कुनै मानसिक अस्पतालमा भर्ना भएकाले नि गर्दैनन् होला ।

आठ घन्टाको ननस्टप कुरा कटाई पछि बल्ल जोमसोम देखा पर्यो । तिनीहरु गाडीबाट ओर्लिए ।

ओर्लिने बेला गोथे ज्वाईँकी सानिमा सासुले ‘बैनीहरु आउनुस्, यही होटलमा बसौं’ भनीन् । मेरो छुच्चो मुख चलिहाल्यो, ‘किन आठ घन्टा टर्चर दिएर पुगेन ?’

आलोहीले गाली गरी । हामी पुल तरेर मुक्तिनाथ जाने गाडीको काउन्टर गयौं । काउन्टरको केटोले भोलि बिहान ७ बजे आउनु भन्दै आफूले चिनेको होटलमा बस्ने सल्लाह दियो ।

त्यही केटोले भनेको होटलमा गएर चेक इन गर्यौं । र, कफी अर्डर गरेर कोठामा छिर्यौं । कफी सक्किएको लगभग दश मिनेटपछि ढोकामा कसैले ढङढङ गर्यो । खोलेर हेर्दा तीन कप कफीसँगै एउटा नोट थियो । तीनटा कपमध्ये एउटामा हार्टसेप थियो । हामी वाल्ल पर्यौं । रमाइलो लाग्यो । नयाँ ठाउँ, अनि कसैले हाम्रो लागि पठाएको कफी विथ अ वेलकम नोट…।

तीनैजना त्यो पान वाला कफी ‘तेरो लागि तेरो लागि…’ भन्दै हाँस्यौं । तर, त्यो कप कफी कस्ले खायो थाहा भएन ।

त्यत्तिकैमा आलोहीको मोबाइलमा मेसेज आयो, ‘वेलकम टू जोमसोम ब्यूटिफूल लेडीज् ।’ त्यो कफी याद आयो । र, याद आयो चेकइन गर्दा रजिस्टरमा आलोहीको नम्बर राखेको । जोमसोममा पहिलो रात रमाइलै बित्यो ।

………….
बिहान सात बजे बस काउन्टर पुग्यौं । तर, बसको अत्तोपत्तो थिएन । सधैँझैँ बस जाने बाटो पिच हुन लागेकोले अर्को बाटो हुँदै मुक्तिनाथ जानुपर्ने देखियो । बस आयो र हामीलाई कागबेनी लगेर छोड्यो ।

फिलिममा र फोटोमा देखे जस्तो कागबेनी कतै देखिएन । दुईचार वटा रुख, रुखो बगर र पाखा, त्यति थियो, दुनियाँले सुन्दर देखेको कागबेनी ।

कागबेनी पुगेसी फेरि हामी अलपत्र पर्यौं । स्थानीय बासिन्दाले बाटो बन्द गरेका रहेछन् । बस आउने नआउने टुङ्गो भएन । काउन्टरको रिप्रेजेन्टेटिभ कुङ्गा भन्ने केटो रिसले चुर हुँदै थियो । हामी ट्वाल्ल परिराथ्यौं ।

त्यत्रो कागबेनी पुगेको, फोटो त खिच्नै पर्यो…। दुईजना खैरे देख्यौं । रसियन रहेछन् । आलोहीले तिनलाई हाम्रो फोटो खिचिदिन आग्रह गरी । भनौँ नयाँ साथी भेट्टिए ।

बिहान आठ बजे पुगेको लगभग १२ बज्न लाग्दा पनि गाडीको केही टुङ्गो भएन । भोकले पेट बट्टारिसकेको थियो । हामीले एकजना त्यहीँको लोकल मान्छेसँग परिचय गर्यौं । त्यो मान्छेले हाम्रो लागि उवाको जल ल्याइदियो ।

खाली पेट, उवाको रक्सी, दिमाग त टिनिनि घुम्न थालिगो ।

समय त कटाउनै पर्यो, त्यो रसियन केटाले गिटार निकाल्यो र गित गायो । हामी त्यसैमा रमायौं ।

लगभग १ बजेतिर गाडी आयो, तँछाडमछाड गरेर सिट मिलाइयो । त्यो रसियन केटाले छतमा बस्न जिद्दी गर्यो । सुरुमा ड्राइभर मानेको थिएन । तर, एकछिनपछि ‘हुन्छ हुन्छ जा’ भन्यो ।

फेरि एकछिनपछि किन गएको भनेर कराउन थाल्यो । एक त भोक, तेसमाथि उवाको तिरीमिरी, मेरो कन्सिरी तात्तिहाल्यो । झगडा गर्न मलाई कस्ले सिकाउनु पनि र । म सुरु भै हालें । साथ दिइ सम्झुले । आलोही चैँ हामीलाई चुप लगाउन खोज्दै थिइ । हामी कताको मान्नु ?

गाडी आधा बाटोसम्म मात्र गयो । हामी बिस्तारै उकालो लाग्यौं । मुक्तिनाथ पुगियो, आलोही फोटो खिच्न थाली, म मार्क्स (नयाँ भेटिएको रसियन साथी) लाई मुक्तिनाथको बारेमा बताउन थालें । सम्झु त्यतै कतै थिई ।

हावा हावामा १०८ धारामा कुद्ने काम पनि गर्यौं । अनि बदमासीको हद पार गरेर चिसिएको शरीर तात्छ भन्दै मुक्तिनाथको प्राङ्गणमा बसेर सोमरस पियौं ।

भोकले मर्नु भैसकेको थियो । ती केटाहरु दुईचार दिन त्यतै बस्छौँ भन्न थाले । हामीलाई जोमसोम फर्किनु थियो । ओरालो लाग्यौं, खाजा खाने ठाँउतिर ।

सम्झु जाडोले कामेको देखेर त्यो रसियन केटा (म्याक्सि) ले आफुले लगाएको ज्याकेट खोलेर लगाईदियो । त्यो न्यानोपन मनभरि बस्यो । हामीले जिस्क्यायौँ । खाजा खाएर हामी ती रसियन केटाहरु र हामीलाई उवाको रक्सी ल्याइदिने दाईलाई तेतै छोडेर जोमसोमतिर फर्कियौं ।

बाटो हराउनु मेरो विशेषता हो, हामी बाटो हराएर उल्टापाल्टा बाटो जाँदै थियौं । बाटो डरलाग्दो थियो । आलोहीले कागबेनी भन्ने फिलिमको कथा सुनाउन थाली । डर लाग्यो । जसोतसो गाडी लाग्ने ठाँउसम्म पुग्यौं ।

गाडीको टिकट काटेपछि आलोहीले भनी, ‘हे भगवान अघि आउँदाको गाडी चैँ नहोस् ।’

गाडी त्यही पर्यो, त्यो पनि ड्राइभरसँगैको सिट । हामी हाँस्यौं, नमिठो हाँसो । जोमसोम पुग्दासम्म भोकले सात्तो गइसकेको थियो । खाने कुराको जोरजाम गर्न हाम्रो दौडधुप कसैले देख्या भए मेडल नै पाउँथ्यौं होला ।

पेट टन्न पारेसी हामी बजार डुल्न निस्कियौं ।

आलोहीको फोनमा मेसेज आयो, ‘डुम्बा ताल जाने हो, म लगिदिन्छु ।’

मेसेज उही कफी पठाउने व्यक्तिको थियो । सम्झुको र मेरो बिन्तीलाई लत्याएर आलोहीले प्रस्ताव अस्वीकार गरी । हामी सम्झुको एउटा त्यहीँ काम गर्ने साथी भेट्न गयौं ।

लगभग एक घन्टा लगाएर चिया पियौं र विचरा त्यो साथीको पिडाका कहानी सुन्यौं । सरुवा भएको एक महिना पनि नहुँदै बैरागिएको त्यो साथीलाई देख्दा चैँ मुस्ताङ मन नपराउने हामी एबनर्मल हैनौं भन्ने थाहा भयो ।

आलोहीको फोनमा मेसेज आउन बन्द भएन । आग्रह थियो, हाम्रो लागि बिदाईको रात्री भोज गर्ने । अन्त्यमा हाम्रो निमित्त आयोजना गर्ने भनिएको रात्री भोजमा सहभागिता जनाउने कन्फर्म गरेसी बल्ल मेसेज रोक्कियो ।

खाना खान गयौं । मधुरो सङ्गित, केही मिठा परिकार र ती नचिनेका साथी (लगभग २०/२२ का तीनजना भुरा केटाहरु) । धेरै बसे आधा घन्टा बस्ने हाम्रो प्लान फ्लप हुँदै गयो । ताल न तुलका कुरा गरेर १२ बजायौं ।

मेरो दिमाग ठेगानमा नभएकाले कसले के कुरा गरे, खास्सै हेक्का छैन । जे होस् भुराहरुसँग गफसफ गरियो ।

…………………
छ बजे सुमो काउन्टर पुगेर टिकट काटियो । हामी अन्तिम सिटमा बस्यौं । राम्रोसँग बस्न नपाउँदै सम्झुले ड्राईभर दाईसँग गुनासो पोखी, ‘दाइ अरु मान्छे कस्ता छन्, अस्ति आउँदा त सारै झुर मान्छे परेका थिए ।’

आलोहीले आँखा तर्दै चुप लाग्न इशारा गरी ।

गाडी सिधै गएर त्यही होटलमा रोकियो, जहाँबाट गोथे ज्वाईँका परिवार निस्किए । अनि सँगसँगै हाम्रो सात्तो पनि । एकअर्कालाई हेरेर ट्वाल्ल पर्नु सिवाय उपाय केही थिएन । फेरि चर्को स्वरमा अस्तिकै कुराहरु दोहोरिन थाले । लगभग एक घन्टाको यात्रापछि ड्राइभर दाइको फोन आयो । फोन लाउड स्पीकरमा थियो ।

उताबाट कोही बोल्यो, ‘के हो पारा, मान्छे हानेर भाग्ने ?’

निलो हुँदै दाइले सोध्यो, ‘कहाँ, कहिले, मलाई त केही थाहा छैन त !’

उताबाट कडा स्वरमा भन्यो, ‘बेनी पुलिस चौकी आउनुस्, घाइतेलाई अस्पताल लानुपर्छ ।’

ड्राइभर दाइको मुख मलिन भयो । हामीलाई पनि मनमा नरमाइलो लाग्यो । बेनी पुग्नै लागेसी, ड्राइभर दाइले, ‘बैनीहरु, म दुई घन्टा जतिमा आउँछु, तपाईँहरु नआँत्तिकन बस्नुस् है,’ भन्यो ।

हामीले, ‘हुन्छ दाइ, नआँत्तिकन जानुस्, हामी यतै घुम्छौं,’ भन्यौं ।

दाइ गए । हामी यस्सो वरपर हेर्न थाल्यौं । लगभग तिन घन्टा बित्यो । दाइ सबै समस्या सल्टाएर आइपुगे । अब जाने भनेर हेर्दा ती गोथे ज्वाईँका परिवार गायब । फोन गर्दा थाहा भयो, तिनीहरु लगभग तीन किलोमिटर परको होटलमा भात खाँदै छन् । कुरेर बस्नुभन्दा तिनलाई लिन गए छिटो हुने देखेर गाडी त्यतै अघि बढ्यो ।

लगभग आधा घन्टाजस्तो ओरालो झरेसी गाडी झ्याप्प रोक्कियो । ड्राइभर दाइले ओर्लेर हेरे । गाडीको चक्का फेर्नुपर्ने भएछ । गाडी भिरालो ठाउँमा थियो । झिसमिसे अँध्यारोले पनि होला, ड्राइभर दाइ एक्लैलाई चक्का फेर्न निक्कै गाह्रो पर्न थाल्यो ।

मैले स्यानो स्वरमा सोधें, ‘दाइ, हामी केही सघाउन सक्छौं ?’

दाइले त्यो गोथे ज्वाईँतिर हेर्दै भने, ‘सक्नेले सघाउँदैनन्, तिमीहरु के चैँ गर्छौं ?’

मैले हाँस्दै भनें, दाइ, ज्यान हेरेर भन्नु के, केही न केही त कस्सो नसक्किएला ।’

‘त्यसोभए, त्यो परको चक्का गुडाउँदै यता लिएर आओ, एकजना मोबाइलमा लाइट देखाऊ, अर्काेले यो नट खोल्न सघाऊ,’ उनले भने ।

मैले चक्का गुडाउँदै ल्याएर गाडीको छेउमा राखेँ, आलोहीले लाईट देखाई, सम्झु नट खोल्न सघाउन थाली । गोथे ज्वाईँका परिवार छेवैमा बसेर खाजा खान थाले ।

चक्का फेरियो । सबैका हात काला भए । मैले नजिकैको कुलोमा गएर पानी लिएर आए ँ। हात धुँदै गर्दा ड्राइभर दाइले हाँस्दै सोधे, ‘कस्तो भयो त मुस्ताङ घुमाई ?’

‘सधैँझैँ आवारा,’ हामीले यत्ति भन्यौं ।

गफगाफ गर्दै पोखरा आइपुगियो । गोथे ज्वाईँका सन्तान ओर्लिए । ड्राइभर दाइले खुलेर तिनलाई सरापे । र, हामीलाई आफूले चिनेको होटलमा लगेर निक्कै सस्तोमा बस्ने व्यवस्था मिलाइ दिए ।

नमरी बाँचे, भेट होला नि है दाइ भनेर छुट्टियौं ।

होटलमा पुगेपछि खाटमा बस्दै सम्झुले भनी, ‘दुनियाँले स्वर्ग देखेको मुस्ताङ त पुगियो, तर स्वर्ग चैँ देखिएन ।’

आलोहीले थपी, ‘पख न, गोजीमा बचेको हात्ती बेचेर पोखराको स्वर्ग हेर्नुपर्छ ।’

म केही बोलिनँ । किनकि मलाई थाहा थियो, मेरो सपनाको संसार कतै पर मलाई पर्खिरहेको छ ।


क्लिकमाण्डू