यी हुन् २०१८ मा आउने १० नयाँ कार, नेपाली बजारमा कुन-कुन आउलान् ?



काठमाडौं । सोमबारबाट सन् २०१८ सुरु भएको छ । २०१७ मा अटोमाबाइल कम्पनीहरुले एक से एक राम्रा कार सार्वजनिक गरे र नयाँ कार सार्वजनिकको सिलसिला २०१८ मा पनि जारी हुनेछ ।

यो वर्ष कम्पनीहरुले ह्याचब्याक, स्पोर्टस् यूटिलिटी भेइकल (एसयूभी) र सेडान सेगमेन्टका नयाँ मोडलका कार सार्वजनिक गर्नेछन् । २०१८ मा अधिकांश कम्पनीहरुले नयाँ कार सार्वजनिक गर्ने बताइएको छ ।

हुन्डाई आई २० फेसलिफ्ट
हुन्डाईले आफ्नो आई २० को सेकेन्ड जेनेरेशन सेफलिफ्ट भर्जनको टेस्टिङ सुरु गरेको छ । नयाँ आई २० मा एक्सटेरियर र इन्टेरियर दुवै परिवर्तन हुनेछ । यो कार २०१८ को सुरुवातमै सार्वजनिक हुने बताइएको छ ।

यसको मूल्य साढे पाँच लाखदेखि साढे ९ लाख भारतीय रुपैयाँसम्म पर्नेछ । यो नेपाली बजारमा आउन सक्ने कार हो ।


मारुती सुजुकी स्विफ्टको नयाँ मोडल
मारुती सुजुकीले आफ्नो नयाँ स्विफ्टको प्रोडक्शन पूरा गरेको छ । यो प्रडक्टको तस्बिर इन्टरनेटमा लिक भइसकेको छ । कम्पनीले नयाँ मोडल चाँडै सार्वजनिक गर्ने बताएको छ । पेट्रोल र डिजेल भेरिएन्टको अटोमेटिक भर्जनका साथै २०१८ मा मारुती स्विफ्ट स्पोर्ट पनि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

सुरुमा मारुतीले स्विफ्टको १.२ लिटर पेट्रोल र १.३ लिटर डिजेल भेरिएन्ट्स सार्वजनिक गर्ने बताइएको छ । त्यसपछिमात्रै स्विफ्ट स्पोर्ट सार्वजनिक गरिनेछ । यी कारमा १.४ लिटर टर्बोचार्जड, ४ सिलिन्डर पेट्रोल इन्जिन हुनेछ । १४० पिएस पावर र २३० एनएम टर्क जेनरेट गर्ने क्षमताका कार हुने बताइएको छ । यी कार ६ स्पिड मेनुअल ट्रान्समिसनका साथ उपलब्ध हुनेछन् । यो कारपनी नेपाली बजारमा आउने कार हो ।

फोर्ड फिगो क्रस
फोर्ड लामो समयदेखि ह्याचब्याक फिगोको क्रसओभर भर्जनको काममा जुटेको छ । अब यो कार तयार भइसकेको छ र परीक्षणसमेत भइसकेको बताइएको छ । यो कारको फ्रन्ट र रियर बन्पर परिवर्तन गरिएको छ ।

फिगो क्रसका साथै कम्पनीले फिगो एस्पायरको फेसलिफ्ट भर्जनसमेत सार्वजनिक गर्न सक्ने बताइएको छ । फिगो क्रस २०१८ को मध्यसम्म सार्वजनिक गरिनेछ । जसको मूल्य ५ देखि ८ लाख भारतीय रुपैयाँ पर्नेछ । फिगो क्रस नेपाली बजारमा आउने छ ।

गो क्रस
ड्याटसनले यो वर्षको सुरुवातमा क्रस कन्सेप्ट सार्वजनिक गर्न सक्नेछ । यो कार गो प्लसको आधारमा बनाइएको छ । यसको मूल्य ६ देखि ८ लाखको बीचमा पर्ने बताइएको छ । यो कार समेत नेपाली बजारमा आउने छ ।

एसयूभी सेगमेन्टमा आउने कारहरु
एसयूभी सेगमेन्टअन्तर्गत २०१७ मा टाटा मोटर्स, जीपजस्ता कम्पनीले बजारमा प्रतिस्पर्धा बढाएका छन् । यही क्रममा २०१८ मा पनि यो सेगमेन्टका नयाँ मोडल सार्वजनिक हुनेछन् ।

महिन्द्रा टीयूभी ३०० प्लस
महिन्द्राले २०१८ को सुरुवातमा टीयूभी ३०० प्लस सार्वजनिक गर्ने भएको छ । यो मोडल टीयूभी ३०० को आधारमा बनाइएको हो । यसको परीक्षण समेत पूरा भएको छ । यो कारका केही स्पेसिफिकेसनसमेत लिक भइसकेका छन् ।

यो कार ९ सिटर हुने र २.२ लिटर एमएचएडव्ल्यू डिजेल इन्जिन हुने बताइएको छ । महिन्द्रको यो कार नेपाली बजारमा आउने कार हो ।

रेन्जरोवर वेलार
२०१७ मा रेन्ज रोवर वेलारको सार्वजनिक हुने घोषणा गरिएको थियो । यो कार २० जनवरी २०१८ मा सार्वजनिक हुनेछ । २ लिटर पेट्रोल र डिजेल इन्जिनका साथमा यो कार सार्वजनिक हुने बताइएको छ । यो कारमा केही नयाँ फिचर्ससमेत हुनेछन् ।

यो कारको मूल्य ८० देखि ९० लाख भारतीय रुपैयाँ पर्ने बताइएको छ । यो कार नेपाली बजारमा आउन सक्छ ।

लिम्बर्गिनी युरस
लिम्बर्गिनी युरस कम्पनीको गेम चेन्जर सावित हुने बताइँदै आइएको छ । यो कार सार्वजनिक हुनेबित्तिकै कम्पनीको आफ््नो लग्जरी र प्रिमियम पोर्टफोलियो समेत बढ्नेछ । यो कार ११ जनवरी २०१८ मा सार्वजनिक हुनेछ । यसको मूल्य ३ देखि ५ करोड भारतीय रुपैयाँको बीचमा पर्नेछ । यो कारको नेपाली बजारमा वितरक नै छैन ।

अडी क्यू ५
अडीको क्यू ५ पनि यो वर्ष बजारमा आउनेछ । यो कारमा १२.३ इन्च भर्चुअल ककपिट इन्स्ट्रुमेन्ट कलसेन्टर, वाईफाई, एमएमआई सिस्टमका साथै कार प्लेट र एन्ड्रोइड ओटोका लागि ८.३ इन्चको स्ट्यान्डिङ स्क्रिन जस्ता फिचर रहने बताइएको छ । २.० लिटर पेट्रोल र डिजेलका साथै ३ लिटर डिजेल इन्जिनका साथ यो कार उपलव्ध हुनेछ ।

यसको मूल्य करिब ६२ लाख भारतीय रुपैयाँ पर्नेछ । यो कारको नेपाली बजारमा बिक्रेता नै छैन ।

न्यू बीएमडब्ल्यू एक्स थ्री
बीएमडब्ल्यूले यो वर्ष न्यू एक्स थ्री सार्वजनिक गर्न सक्नेछ । यो कारको प्रतिस्पर्धा अडी क्यू फाइभ र मर्स्डिज जीएलसीसँग हुनेछ । यो कार २०१८ को सुरुवातमै सार्वजनिक हुनसक्छ । यसको मूल्य ५० लेखि ६० लाख भारतीय रुपैयाँ पर्नेछ । बीएम डब्लुको नेपाली बजारमा आधिकारीक बिक्रेता अहिलेसम्म छैन ।


क्लिकमान्डु