नेपाली खानाको प्रबद्र्धन गर्न ‘नेपाली गेस्टोनमी लोकल्ली एण्ड ग्लोबल्ली’ अभियान शुरु



काठमाडौं । नेपाली खानाको प्रचार प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उदेश्यले नेपाली गेस्टोनमी लोकल्ली एण्ड ग्लोबल्ली अभियान शुरु गरिएको छ ।

सन् २०१८ को शुरुवातसँगै काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नेपाली गेस्टोनमी लोकल्ली एण्ड ग्लोबल्ली अभियान शुरु गरिएको हो ।

सो अभियानअन्तर्गत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र विदेशमा समेत अभियानकै रुपमा नेपाली खानाका परिकारहरुको बारेमा जानकारी प्रदान गरिने सेफ एशोसिएसन नेपालका पूर्व उपाध्यक्ष तथा अभियन्ता सुरेश बस्नेतले जानकारी दिए ।

कार्यक्रममा सेफ एशोसिएसन नेपालका अध्यक्ष श्रीराम अधिकारीले हाल नेपालका विभिन्न २० वटा खानाका परिकारहरु प्रबद्र्धन गर्नका लागि तयारी भएको जानकारी दिए ।

‘हाम्रो नेपाली खानाका परिकारहरुलाई अन्तराष्ट्रियस्तरमा आधुनिकीकरण गरेर प्रबद्र्धन गरिनुपर्दछ,’ उनले भने ।

नेपालमा सेफलाई सम्मान नदिने गरेको गुनासो गर्दै विदेशमा भने सम्मानजनक जागिरको रुपमा रहेको उनले बताए ।

काठमाडौंको बिग फुडल्याण्डमा नेपाली खाना तयार गरेर स्वाद चखाउँदै शुरु भएको अभियान सुनसरी, सर्लाही, चितवन, पोखराहुँदै नेपालभर संचालन गरिने आयोजकले जानकारी दियो ।

त्यसैगरि विदेशमा टर्कीमा हुने १६ औं अन्तराष्ट्रिय गेस्टोनोमी फेस्ट, बेलायतका विभिन्न रेस्टुरेन्टहरु, अस्ट्रेलिया र अमेरिकामा समेत नेपाली खानाका परिकारहरुको प्रबद्र्धन गर्ने गरि नेपाल गेस्टोनोमी लोकल्ली एण्ड ग्लोबल्ली क्याम्पेन हुने बताईएको छ ।


क्लिकमान्डु