कोशीटप्पुमा सञ्चारको सुविधा उपलब्ध गराउन माग



फाइल

इनरुवा । प्रदेश नं १ को पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा सञ्चारको सुविधा उपलब्ध गराउन सो क्षेत्रका स्थानीयबासिन्दाले माग गरेका छन् ।

आरक्ष क्षेत्रमा सञ्चार सम्पर्कविहीन हुँदा समस्या भएको भन्दै स्थानीयले सञ्चारको सुविधा उपलब्ध गराउन माग गरेका हुन् ।

आरक्ष क्षेत्रमा एनसेल र नेपाल टेलिकमको टावर नहुँदा दैनिक आरक्ष कार्यालयका कर्मचारीलाई सम्पर्क गर्दा समस्या भएको र समयमा फोन सम्पर्क नहुँदा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाले यहाँ एनसेल र नेपाल टेलिकमको टावर निर्माण गर्नुपर्ने आरक्ष क्षेत्रका स्थानीयवासी दयाशंकर झाले बताए।

यस ठाउँमा सञ्चार सम्पर्कविहीन हुँदा आफूहरूलाई कुनै समस्या परेको बेला र आरक्षका जंगली जनावरले बितण्डा मच्चाइरहेका बेला सम्पर्क गर्न खोज्दा फोन सम्पर्क नहुने समस्याले सताएका स्थानीय अशोक मेहताको भनाइ छ ।

विश्व रामसार सूचीमा पहिलो पटक सूचीकृत नेपालको सिमसार क्षेत्र सुनसरी, सप्तरी र उदयपुर जिल्लाका बीचमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षप्रति राज्यको ध्यान नपुगेको गुनासो बढ्दै गएको छ ।

जिल्लाको विभिन्न ठाउँमा सञ्चारको राम्रो पहुँच भए पनि महत्वपूर्ण स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चार सम्पर्कविहीन हुँदा आफूहरूलाई दैनिकी कामकाज गर्नसमेत समस्या भएको कार्यालयका कर्मचारीले बताएका छन् ।

कार्यालयमा सञ्चार सम्पर्क नहुँदा दैनिक इमेल गर्ने र कुनै कुराको जानकारी लिनका सदरमुकाम इनरुवा जानुपर्ने बाध्यता रहेको आरक्षले जनाएको छ । जंगलको छेउमा आरक्षको कार्यालय रहेका कारण दैनिकजसो हात्ती आतंकजस्ता समस्या हुने भएको र सुरक्षाकर्मीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नहुने कारणले झन समस्या हुने गरेको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताए।

नेपाल टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरले टावर निर्माणका लागि काम थालेको भए पनि अपूरो छाडेर भागेको आरक्षका नायब सुब्बा सुरेन्द्र खड्काले जानकारी दिए ।

यहाँ सञ्चार सम्पर्क नहुँदा आरक्षदेखि बाहिर जानुपर्ने र सम्बन्धित निकायमा तत्काल सञ्चार सम्पर्क गर्न कठिनाइ व्यहोर्नु पर्दासमेत माथिल्लो निकायको ध्यान नगएकै कारणले दुःख पाउनु परेको गुनासो कर्मचारीको छ । त्यसैले यस क्षेत्रमा भइरहेको टावर निर्माणको कामलाई अगाडि बढाउनका लागि र सञ्चारको पहुँच बनाउनका लागि समयमै सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।


क्लिकमान्डु