सडक बोर्ड भन्छ ४ अर्बले सडक मर्मत कसरी गर्नु



काठमाडौं । सडक बोर्ड नेपालले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थमन्त्रालयसँग माग गरेको छ ।

बोर्डका अनुुुसार सो कोषमा वर्षेनी २० अर्ब रुपैयाँ रकम उठ्ने गर्दछ । सोमध्ये मन्त्रालयले बोर्डलाई ४ अर्बमात्र विनियोजन गर्ने गर्दछ । बोर्डले हाल २१७ नगरपालिका र ७३ जिल्ला विकास समितिमार्फत सो रकम सडक मर्मतमा विनियोजन गरेको जनाएको छ ।

सडक मर्मत तथा सम्भार गर्ने ध्येयले सडक बोर्ड ऐन २०५८ अनुसार बोर्डको स्थापना भएको हो । बोर्डका १५ औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सडक मर्मतमा एक रुपैयाँ लगानी गर्दा यातायात मर्मतमा दुई रुपैयाँ बचत हुने गर्दछ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सडक पूर्वाधार विकास र समृद्धिको आधार भएकाले यसको पूर्वाधारमा सरकारले लगानी बढाउँदै गएको बताए ।

राज्यमन्त्री सीतादेवी गुरुङले सडक मर्मतमा लगानी बढाउन आवश्यक भएकोमा जोड दिँदै गुणस्तरीय सडकले आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले नेताको आँगन र बारी छोएर सडक जाने प्रथा अन्त्य गरी नयाँ सडकसँगै मर्मतलाई पनि एथेष्ट रकम विनियोजन गर्ने परम्परा शुरु गर्नुपर्ने बताए ।

सांसद रवीन्द्र अधिकारीले समयमा सडक निर्माण सम्पन्न नहुने परिपाटीलाई अन्त्य गर्दै पहुँचका आधारमा भन्दा आवश्यकताका आधारमा सडक बनाइनुपर्ने धारणा राखे ।

अर्का सांसद गगन थापाले सडक विस्तारमा रकम विनियोजन हुने तर मर्मतमा रकम नपर्ने परिपाटी अन्त्य गर्न जोड दिए ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार ज्ञानचन्द्र आचार्यले आर्थिक रुपान्तरणका लागि सडक पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यक रहेको बताए । बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थमन्त्रालयसँग माग गरे । रासस


क्लिकमान्डु