असन र ठमेलमा यस्तो छ मेरी क्रिशमसको तयारी




काठमाडौं । इसाइ धर्माबलम्बीहरुको ठूलो पर्व क्रिसमस नजिकिसकेको छ । असन र ठमेलका बजारहरुमा जहाँ पनि रातो रङमा सेतो बोडर भएको टोपी, सेन्टाकल्स र क्रिसमस ट्रि देखिन थालेको छ ।

क्रिस्चियन धर्मालम्बीहरुको महान चाड क्रिसमस अब क्रिस्चियनहरुले मात्र नभइ सबैले रमाइलोका रुपमा मनाउने गरेका छन् । क्रिसमसको दिनको लागि भनी विशेष गरी विद्यालयहरुले टोपी, क्रिसमस ट्रि र सेन्टाकल्सका आकृति भएका गुडियाहरु किनेर लगाउने र सजाउने गरेका छन् । त्रिसमसमा युवा युवतीहरुले पनि क्रिसमस टोपी फेसनका रुपमा लगाउने भएकोले क्रिसमसको रौनक सुरुबाट नै असन र ठमेलका ठाउँ ठाउँमा देख्न पाइएको हुन सक्छ ।

व्यापारीहरुले क्रिसमसका टोपी मात्र ५० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्ममा विक्री गर्ने गरेका छन् । यस्तै क्रिसमसका कपडाहरु भने कपासले बनेका सस्तो हुने भएकाले ३ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँ पर्न जाने र कपडाले बनेको क्रिसमस ड्रेस भने ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म पर्ने गरेको असनकी व्यापारी अनिसा महर्जनले बताइन् ।

यस्तै क्रिसमसमा प्रयोग हुने ट्रि साइज अनुसारको साधारणको १ सय रुपैयाँदेखि डेकोरेटेड क्रिसमस ट्रि ५ हजार रुपैयाँसम्ममा विक्री हुने गरेको महर्ज बताउछिन् । क्रिसमसका डेकोरेसनका सामानहरु ५० रुपैयाँदेखि १ हजार रुपैयाँ पर्न जाने उनको भनाइ छ ।

अघिल्लो वर्षको तुलानामा यो वर्ष कम व्यापार भएको बताउने महर्जन प्रतिदिन १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मको व्यापार गर्ने गर्छिन् ।

यस्तै असनमै अरुबेला किसमिस व्यापार गरेर बस्ने गरेका राजु तुलाधारले अहिले भने क्रिसमस टोपी व्यापारका लागि राखेका छन् ।

उनको पसलमा रहेका टोपीहरु ३० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्ममा विक्री गर्ने गरेका छन् । तुलाधार १ देखि १२ वर्षका बच्चाहरुका लागि हुने क्रिसमस कपडाहरु ३ सय ५० रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्ममा विक्री गर्ने गर्छन् ।

उनी भन्छन् ‘व्यापार त खासै छैन् तर, डिमाण्ड अनुसार राखेको हो । स्कुलहरुले बढी किन्ने भएकोले माग अनुसारको सामान मात्र राख्ने गरेको छु ।’

उनको पसलमा विक्री गर्न राखिएको क्रिसमस ट्रिको मूल्य भने १ सय रुपैयाँदेखि ३ सय ५० रुपैयाँसम्म रहेको छ । यसरी डेकोरेसन गरेर राखिएका किसमस ट्रि विशेष गरी स्कुल, रेस्टुरेन्ट, पसल, चर्च र क्रिस्चियन धर्मावलम्बीहरुले क्रिसमसको लागि किन्ने गरेको तुलाधारको भनाइ छ ।

यस्तै क्रिसमसका कपडाहरु राखिएको ठमेलको एक पसलमा क्रिसमसको टोपी ७५ रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म विक्री भैरहेको पाइयो । ती व्यापारीले क्रिसमसका कपडाहरु भने ३ सय ५० देखि ६ सय ५० रुपैयाँसम्ममा विक्री गर्ने गरेका छन् ।

यस्तै केही पसलहरमा भने क्रिसमसका कपडा ३ सय रुपैयाँदेखि ७ सय रुपैयाँसम्म विक्री गरिएको देखियो । क्रिसमस ट्रि ३ सय देखि २ हजार रुपैयाँसम्ममा विक्री हुने गरेको पाइयो ।

अन्य सजावटको सामाग्री भन्दा ट्रि अलि विशेष ब्यक्तिले किन्ने गरेका छन् । कतिपय अवस्थामा केटाकेटीको रहरले मात्रै किन्ने गरेको पाइयो । सामान्यत घरकै लागि भन्दा पनि चर्चको लागी ट्रि किन्ने गएिको ब्यापारीहरु बताउँछन् ।


क्लिकमान्डु