एफएनसीसीआइका पूर्वअध्यक्षहरु थिङ्क ट्याङ्कको भूमिका माग्दै नेता भेट्ने दौडधुपमा




काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्षहरुले निजी क्षेत्र र सरकारबीचको समन्वयको भूमिका आफूहरुले पाउनु पर्ने लबिङ सुरु गरेका छन् ।

पूर्वअध्यक्षहरुले राजनीतिक दलका प्रमुख नेताहरुलाई भेटेर आफूहरुलाई समन्वयकारी भूमिका प्रदान गर्न आग्रह गरेका हुन् । उनीहरुले पूर्वअध्यक्ष परिषद गठन गरेर सोही फोरम मार्फत नीति निर्माण तहमा भूमिका खोजेका हुन् ।

एनफएनसीसीआइका पूर्वअध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रबिभक्त श्रेष्ठ, कुशकुमार जोशी, सुरज बैद्य र पूर्वबरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले संयुक्त रुपमा यस्तो पहल थालेका हुन् ।

सो फोरममा सहभागी हुन महासंघका पूर्वअध्यक्ष बिनोद चौधरीसँग पनि कुराकानी भइरहेको एक पूर्वअध्यक्षले जानकारी दिए । चौधरीले ‘तपाइहरु गर्दै गर्नुस्, म आँउछु भन्नुभएको छ,’ एक पूर्वअध्यक्षले भने ।

सो टोलीले विहिबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेको छ । यस्तै शुक्रबार बिहान माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि एमाले सबैभन्दा ठूलो राजनीतिक दल भएको छ भने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ माओबादी केन्द्र दोस्रो ठूलो दल भएको छ ।

एमाले र माओबादी केन्द्रको बामगठबन्धनले चुनाब जितेपछि अब सोही गठबन्धनले सरकार बनाउने तयारी गरिरहेको छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने भएको छ । यस्तो अबस्थामा महासंघका पूर्वअध्यक्षहरुले ‘वेटिङ प्राइमिनिष्ट’देखि अन्य प्रभावशाली नेताहरुसमेतलाई भेटेका हुन ।

सो टोलीले वर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट गरेर आफ्ना कुरा राख्न खोजिरहेको छ ।

कतिपय ब्यवसायीहरुले पूर्वअध्यक्षहरुको यस्तो गतिविधिले महासंघको भूमिका कमजोर हुने दाबी पनि गरेका छन् । तर, महासंघले ब्यवसायीको ब्यवसायिक हितको कुरा गर्ने र पूर्वअध्यक्षहरुको समुहले थिङ्क ट्याङ्कको भूमिका निर्वाह गर्ने दाबी पूर्वअध्यक्षहरुको छ ।

महासंघका पूर्वअध्यक्षहरुले ‘वेटिङ प्राइमिनिष्ट’देखि अन्य प्रभावशाली नेताहरुसमेतलाई भेटेका हुन ।

महासंघका पूर्वअध्यक्ष सुरज बैद्यले आफूहरु बेग्ले संस्था खडा गर्ने पहलमा नलागेको र अनुभव र विज्ञताका हिसाबले सरकारसँग आर्थिक विकास र समृद्धिमा सहयोग गर्न तत्पर भएको बताए ।

‘हामीले महासंघका लागि काम गर्ने हो, महासंघले चाहेको खण्डमा महासंघकै माध्यमबाट हामी सरकारको सल्लाहकारको भूमिकामा जान्छौं, हामीसँग २५ बर्ष लामो अनुभव छ, त्यो अनुभव आर्थिक विकास र समृद्धिका लागि सरकारलाई पनि आवश्यक हुन्छ भनेर सहकार्य गर्न खोजिएको मात्रै हो, छुट्टै संस्था बनाउने र राजनीतिक भाग खोज्ने हाम्रो उद्देश्य होइन,’ पूर्वअध्यक्ष बैद्यले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु