यी हुन दूरसंचार प्राधिकरणको सदस्यका प्रतिस्पर्धीहरु



काठमाडौं। सरकारले नेपाल दूरसंचार प्राधिकरणको रिक्त रहेको सदस्य(कानुन)मा आवेदन दिनेहरुको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।  सूचना तथा संचार मन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको सिफारिश समितिले ८ जनाको सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयकाअनुसार सो संक्षिप्त सूचीमा नवराज थपलिया, पदम बहादुर गिरी, रामनारायण देव, विमलप्रसाद ढकाल, सुरेशकुमार कार्की, प्रा.डा. शम्भुप्रसाद खनाल हरिश्चन्द्र सुवेदी तथा हेमकुमार श्रेष्ठ छन् ।

संक्षिप्त सूचीमा परेका आवेदकहरुको व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्तापछि तीनजनालाई सिफारिस गरिनेछ । सिफारिश भएका मध्येबाट सरकारले प्राधिकरणमा एकजना सदस्य(कानून)मा नियुक्त गर्नेछ ।

यसअघि सिफारिश समितिले कात्तिक २८ गते सार्वजनिक सूचना प्रकाशित गर्दै मंसिर १८ गतेदेखि रिक्त भएको सदस्य(कानून) पदमा खुल्ला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको थियो ।

दूरसंचार प्राधिकरणको सदस्य हुनका लागि कम्तीमा कानुन विषयमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । त्यस्तै नियुक्ति हुनुभन्दा अगाडि कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्रांकित प्रथम श्रेणी दशौं तह वा सो भन्दा माथिल्लो पदमा दूरसंचार नियमावली, २०५४ को नियम (३) बमोजिमको अनुभव प्राप्त गरेको र नियुक्ति हुनु अघि बहालवाला कर्मचारीले सो पदबाट राजिनामा दिएको हुनु पर्ने प्रावधान तोकिएको छ ।

नियुक्त भएको सदस्यले प्राधिकरणको बोर्ड सदस्यको रुपमा ५ वर्षसम्म कार्य गर्न पाउनेछ ।


क्लिकमान्डु