कार्टर सेन्टरले भन्यो- छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण



काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समयको चापका कारण मतदाता शिक्षा प्रभावकारी रुपमा हुन नसकेको कार्टर सेन्टरले टिप्पणी गरेको छ ।

निर्वाचनको पर्यवेक्षणमा संलग्न कार्टर सेन्टरले ग्रामीण क्षेत्रमा मतदाता शिक्षामा कमी देखिएको जनाएको हो । सेन्टरले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा चुनौतीपूर्ण सुरक्षा वातावरणमासमेत प्रभावकारी तवरले निर्वाचन सम्पन्न गरेकामा नेपाल सरकार, निर्वाचन आयोग र राजनीतिक दल सबैलाई धन्यवाद दिएको छ ।

कार्टर सेन्टरबाट निर्वाचन पर्यवेक्षणको नेतृत्व थाइल्याण्डका पूर्वउपप्रधानमन्त्री डा सुराकियार्त साथिरथाईले गरेका थिए ।

यस्तै पूर्वअमेरिकी राजदूत पिटर बर्लेलेलगायत पाँचजना विशेषज्ञले निर्वाचनको पर्यवेक्षण गरेका थिए ।

पहिलो चरणको निर्वाचनको दिन १६ र दोस्रो चरणमा ६४ पर्यवेक्षणको टोली परिचालित थियो । सात प्रदेशका ३२ जिल्ला र २८२ मतदान केन्द्रमा पर्यवेक्षण गरेको जानकारी दिँदै सेन्टरले अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण सिद्धान्तको घोषणापत्रलाई अनुसरण गर्दै नेपालको कानुनी संरचना र प्रजातान्त्रिक निर्वाचनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार तय भएको उल्लेख गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन संविधान कार्यान्वयन र राजनीतिक स्थिरतालाई सबल बनाउन सकारात्मक कदम भएको उल्लेख गर्दै सेन्टरले आयोगले आफ्नो अधिकारको पूर्ण रुपमा प्रयोग नगर्दा निर्वाचन कार्यविधि लागू गर्ने तल्लो तहका निर्वाचन कर्मचारीलाई पूर्ण रुपमा नियन्त्रण नगरेको तथा प्रचारप्रसारको समयावधिमा आचारसंहिता पूर्णतया र समान रुपमा लागू नभएको स्पष्ट पारेको छ ।

आयोगले निर्वाचन अगावै १४ लाख नयाँ मतदाता दर्ता गरेको भए पनि मतदान कर्मचारी, सुरक्षाकर्मीलाई मतदानबाट वञ्चित भएकाले आगामी दिनमा सुधारको जरुरी रहेको जनाएको छ ।

निर्वाचन शान्तिपूर्ण, व्यवस्थित ढंगले सम्पन्न भएकामा खुशी व्यक्त गर्दै सेन्टरले हिंसात्मक घटनाका कारण सुरक्षाकर्मीको उपस्थितिसमेत मनग्य रहेको उल्लेख गरेको छ । निर्वाचनको पर्यवेक्षणमा राष्ट्रिय पर्यवेक्षकको भूमिकासमेत प्रभावकारी देखिएको पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा पर्यवेक्षणको नेतृत्व गरेका थाइल्याण्डका पूर्वउपप्रधानमन्त्री डा सुराकियार्त साथिरथाईले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गराएर सरकार, निर्वाचन आयोग र राजनीतिक दलले लोकतन्त्रको प्रवद्र्धनमा विशेष भूमिका खेलेकामा खुशी व्यक्त गरे।


क्लिकमान्डु