इन्ट्याग्रिटी आइडल २०१७ का उत्कृष्ट ५ छानिए, भोटिङ खुल्यो




काठमाडौं । इन्ट्याग्रीटी आइडलको चौथो संस्करण ‘इन्ट्याग्रीटी आइडल नेपाल २०१७’ का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ । यस वर्षको उत्कृष्ट पाँचमा जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, बन विभाग बबरमहलमा सहायक बन अधिकृतको रुपमा कार्यरत सबनम पाठक, पञ्चदेव मावि, मान्म कालिकोटका गणित शिक्षक सबराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी रहेका छन् ।

मनोनयमा परेकामध्ये उत्कृष्ट पाँच जनाको नाम चयन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भूतपूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा नेपाल सरकारका भूतपूर्व सचिव जिवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह गरेका थिए ।

जनताप्रति सरकारी कर्मचारीलाई जवाफदेही बनाउने उदेश्यले सन् २०१४ देखि इन्ट्याग्रिटी आइडलको शुरुवात गरिएको थियो । सन् २०१४ मा पाँचथरका तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटि आइडल भएका थिए भने सन् २०१५ मा गुल्मीका तात्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल आइडल बनेका थिए ।

त्यसै गरेर सन् २०१६ को विजेता शिद्धबाबा मावि गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीस भएका थिए । नेपालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, माली, नाईजेरीया र दक्षिण अफ्रिका लगायतका देशमा विस्तार भैसकेको छ ।

इन्ट्याग्रिटी आइडलका लागि १५ जनवरी २०१७ बाट चार महिनाका लागि मनोनयन खुला गरिएको थियो । जस अन्र्तगत देशका ७१ जिल्लाबाट १ हजार २० वटा मनोनयन प्राप्त भएका एकाउन्टविलिटी ल्याबका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले जानकारी दिए ।

देशभरबाट अनलाई, सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आव्हान गरिएको थियो । इन्ट्याग्रिटी आइडलले तय गरेको पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलले उत्कृष्ट पाँचको छनोट गरेका थिए ।

अन्तिम पाँचको छनोट पछि एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रिटी आइडल २०१७ को छनोट गरिने आयोजकले जानकारी दिएको छ । एसएमएस र वेभसाईटबाट भोटिङका लागि उत्कृष्ट पाँच जनालाई बेग्ला बेग्लै भोटिङ कोड निर्धारण गरिएको छ ।

कृष्ण धितालका लागि भोटिङ कोड ०१, सबनम पाठकका लागि ०२, सबराज बमका लागि ०३, शेषनारायण पौडेलका लागि ०४ र सृजना तिवारीका लागि ०५ निर्धारण गरिएको छ । भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गएर अंग्रेजीमा क्यापिटल आइआइएन टाइप गरी स्पेस दिएर आफुलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखि ३४००१ मा पठाउन सकिने छ । त्यसैगरी भोटिङ ईन्टरनेटबाट बाट पनि गर्न सकिने छ ।

भोट गर्ने अवधि मंसिर ११ गते सोमबारदेखि सुरु भएर मंसिर २४ गते आईतबार राति १२ बजेसम्म खुल्ला रहने आयोजकको भनाइ छ ।

इन्ट्याग्रिटी आइडलको महत्व नेपाल सरकारका निजामति कर्मचारीले गरेका सृजनात्मक अभ्यास र उनीहरूले अवलम्बन गरेका सकारात्मक आचरणको कदर गर्दै, नयाँ पुस्तालाई पनि त्यसको अनुशरण गर्न पे्ररित गर्नु रहेको बताइएको छ । सिंगो संयन्त्र भित्र रहेर काम गर्ने अन्य राष्ट्र सेवक कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण जवाफदेही बनाउनुका साथै नागरिक र सरकारबीचको सम्बन्ध विश्वसनीय, सकारात्मक र पारदर्शी बनाउने उद्देश्यका साथ यस अभियानको थालनी गरिएको आयोजक संस्था एकाउन्टबिलिटी ल्याबको भनाइ छ ।


क्लिकमान्डु