बेलायतको सडकमा सन् २०२१ भित्रै चालकरहित कार !



लण्डन,
बेलायतले सन् २०२१ देखि बेलायती सडकमा चालकरहित कार गुडाउने घोषण गरेको छ ।

आर्थिक वर्षको बजेटमा बेलायती अर्थमन्त्री फिलिप ह्यामण्डले आफ्नो बजेट भाषणमा कृत्रिम बौद्धिकताका र आगामी ३ वर्षमा घरेलु सडकमा चालकरहित गाडी गुडाउने योजनाका लागि साढे ७ करोड पाउण्ड खर्च छुट्ट्याउने बताइसकेका छन् ।

गत साता अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटको केही अंशले यस्तो देखाएको हो । उक्त भाषणमा ह्यामण्डले चालकरहित कार उद्योगलाई अनुमति दिन नियम परिवर्तनको घोषणासमेत गर्नेछन् ।

यस घोषणापछि चालकरहित कारको परीक्षणको अनुमति हासिल गर्न बेलायतमा यूरोपेली संघ (ईयू) का अन्य देश र अमेरिकामा झैं कठिन नहुने विश्लेषण गरिएको छ । यो ब्रेक्जिटपछि बेलायती आर्थिक भविष्य सकारात्मक रहने सन्देश प्रवाहित गर्ने ह्यामण्ड र अर्थमन्त्रालयको प्रयासको हिस्सा हो । सन् २०३५ सम्ममा बेलायती चालकरहित कार उद्योग २८ अर्ब पाउन्ड पुग्ने सरकारी अनुमान छ ।

यसबाहेक पनि देशभर विद्युतीय कार चार्ज गर्ने प्वाइन्ट बनाउन विद्युतीय कारका निर्माता कम्पनीलाई प्रेरित गर्न ह्यामण्डले ४० करोड पाउण्ड बराबरको आर्थिक कोषको पनि घोषणा गर्ने अपेक्षा गरिएको छ ।


पुष्प दुलाल