निजीकरणका नाममा ३८ उद्योग धराशायी भएः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएको जिकिर गरे ।

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य भएकामा चिन्ता व्यक्त गरे ।

नेता ओलीले भने, ‘एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ ।’

अध्यक्ष ओलीले ‘देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली काँग्रेसले सुशासन र राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले’ अब वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गरे ।

सो अवसरमा स्थानीय समाजसेवी देवकुमार लामाको नेतृत्वमा केही व्यक्ति एमालेमा प्रवेश गरेका थिए ।


क्लिकमान्डु