ऐनले चिनेन पुराना कमोडिटी एक्सचेन्ज, कसरी सम्बोधन गर्ने भन्ने समस्या




काठमाडौं । कमोडिटी मार्केटलाई नियमन र ब्यवस्थापन गर्न नयाँ ऐन आएपनि संचालनमा रहेका कम्पनीहरुलाई कसरी मान्यता दिने अन्योल देखिएको छ ।

ऐनले यसअघि संचालनमा रहेका कमोडिटीलाई सम्बोधन नगरेपछि उनीहरुले संचालन गरिरहेको ब्यवसाय र तयार पारिएको संरचना के हुने भन्ने अन्योल बढेको हो ।

ऐन आउनुभन्दा अगाडि संचालनमा रहेका कमोडिटीलाई ऐन सम्बोधन नगरेकोले उनीहरुलाई कसरी सम्बोधन गर्ने भन्ने अन्योल रहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । ऐनले पुराना कमोडिटीलाई सम्बोधन नगरेको कारण बोर्डले बनाउन लागेको नियमावलीमा पनि कुनै ब्यवस्था नगरिएको उनले जानकारी दिए ।

‘ऐन आउनुभन्दा अगाडि संचालनमा रहेका कमोडिटीलाई ऐनले सम्बोधन गरेको छैन, हामीले नियमावलीको मस्यौदामा पनि यसअघि कमोडिटी संचालन थिए भन्ने आशयले सो अनुरुपको ब्यवस्था गर्न सकेनौं, नियमावलीको मस्यौदा अर्थमन्त्रालयमा छलफलकै क्रममा रहेकोले यसै हुन्छ भनेर अहिल्यै भन्न सकिने अबस्था छैन,’ गिरीले क्लिकमाण्डूसँग भने ।

ऐन आउनुभन्दा अगाडिदेखि कमोडिटी एक्सचेन्ज संचालनमा थिए । उनीहरुले बजार संयन्त्र पनि तयार पारेका थिए । कारोबार गरिरहेका थिए । ऐनले यो ब्यवस्थाको सम्बोधन नगरेपछि पुराना कमोडिटीले अब कसरी अगाडि बढ्ने भन्ने अन्योल भएको छ ।

ऐन आउनु अगाडि कमोडिटी संचालनमा थिए भन्ने कल्पना नगरिए पनि अर्थमन्त्रालयले भने यसअघिदेखि नै कमोडिटी एक्सचेन्ज संचालनमा रहेको आफ्नो आधिकारिक प्रकाशनमा समाबेश गरेको छ । अर्थमन्त्रालयले गत आर्थिक बर्षमा प्रकाशित गरेको आर्थिक सर्बेक्षणमा कमोडिटी संचालनमा रहेको र उनीहरुले गरेको कारोबार समेत समाबेश गरेको छ ।

यता ऐनले भने अब नयाँ कम्पनी दर्ता गरेर मात्रै कमोडिटी संचालन हुने कल्पना गरेको छ ।नयाँ ऐनले कमोडिटी मार्केटको नियमन र अनुगमनको जिम्मा धितोपत्र बोर्डलाई दिएको छ ।


क्लिकमान्डु