पारवाहन र गैरभन्सार अबरोध नै सार्क क्षेत्रको प्रमुख समस्याः अर्थमन्त्री




काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एशियाली देशहरुको आर्थिक सम्बन्धमा पारवाहन र ब्यापार अवरोध प्रमुख बाधक रहेको बताएका छन् ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको दशौं दक्षिण एशियाली आर्थिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । सार्क क्षेत्रका मुलुकहरुमा जल, स्थल र हवाइ पारवाहन सम्बन्ध तथा गैरभन्सार अबरोधले आर्थिक सम्बन्धलाई फलदायी बनाउन नसकेको मन्त्री कार्कीको भनाइ छ ।

अबका दिनमा विश्व आर्थिक शक्तिको रुपमा सार्क क्षेत्र स्थापित हुनुपर्ने भन्दै उनले यो क्षेत्रको साझा मुद्दाको रुपमा जलबायु परिवर्तन पनि रहेको औल्याए । जलवायु परिवर्तनबाट सार्क क्षेत्रले समान समस्याको सामना गरिरहेको भन्दै उनले यो समस्या समाधानको लागि साझा प्रयास आवश्यक भएको धारणा राखे ।

भुटानका अर्थमन्त्री लिम्पो दोर्जीले नेपाल र भुटानको समान रुपमा जलविद्युतको सम्भावना भएकोले दुबै देशले मिलेर सहकार्य गर्न सकिने बताए । उनले पनि सार्क क्षेत्रमा गैरभन्सार अबरोध प्रमुख समस्याको रुपमा रहेको धारणा राखे ।

मंगलबारदेखि काठमाडौंमा सूरु भएको सो सम्मेलन ३ दिनसम्म चल्नेछ । सम्मेलनमा सार्क क्षेत्रका २ सयभन्दा बढी नीतिनिर्माता, विज्ञ, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता छ । कार्यक्रमको आयोजना नेपाल सरकार र साउतीले संयुक्त रुपमा गरेका हुन् ।


क्लिकमान्डु