बाढी पहिरोको क्षति ६० अर्ब, पुनर्निमाणका लागि ७३ अर्ब लाग्ने




काठमाडौं । गत साउनको अन्तिम साता आएको बाढी पहिरोका कारण मुलुकको अर्थतन्त्रमा ६० अर्ब ७१ करोड ६६ लाख बराबरको क्षति भएको छ । तर पुनर्निमाणका लागि भने ७३ अर्ब लाग्ने देखिएको छ ।

राष्ट्रिय योजना आयोगकाअनुसार सामाजिक क्षेत्रमा आवास, स्वास्थ्य र शिक्षा क्षेत्र, उत्पादनकमूलक क्षेत्रमा कृषि पशुपालन चौपाया र सिंचाई, पूर्वाधारका क्षेत्रमा यातायात, खानेपानी, सरसफाई र ऊर्जा क्षेत्रमा क्षति भएको छ ।

क्षतिको पुनर्निमाणका लागि मात्रै ७३ अर्ब बढी खर्च लाग्ने देखिएको छ । आगामी तीन वर्ष अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य तय गरेर पुनर्निमाण गर्नुपर्ने आया्ेगले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको बजेटबाट पुनर्निमाणका लागि खर्च गर्ने अवस्था भने देखिदैन । त्यसका लागि वैकिल्पक स्रोतको जोहो गर्नुपर्ने देखिन्छ ।

पुनः स्थापनाका लागि सरकारी प्रयासले मात्रै केही नहुने भन्दै आयोगले सरकारको नेतृत्वमा निजी क्षेत्र, गैरसकारी क्षेत्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारलाई सहभागी गराउनुपर्ने देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

जोखिम सम्बोधन गर्न सबैभन्दा बढी प्रभावित र जोखिममा परेका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । तराईको बालीमा पुगेको क्षतिका कारण खाद्य सुरक्षामा समेत संकट आउन सक्ने देखिएको छ । खाद्य सुरक्षाका लागि वैकल्पि उपायको खोजी गर्नुपर्ने देखिएको छ ।


क्लिकमान्डु