रुपन्देही ३: अर्बपति र राजनीतिक जोगीको चुनावी भिडन्त, कसले मार्ला बाजी ?



काठमाडौं । निर्वाचनमा अनेकन प्रवृत्तिका उम्मेदवार मैदानमा खडा छन् । कोही धनी छन् त कोही बौद्धिक पनि छन् ।

निर्वाचन खर्च बढ्दै जाँदा धनी नै योग्य उम्मेदवार बन्ने हो कि भन्ने अवस्था सिर्जना भएको छ । त्यस्तै पात्र र प्रवृत्ति मध्येका उम्मेदवार हुन घनश्याम भुसाल र दीपक बोहोरा ।

स्वास्थ्य मन्त्री रहेका बोहोरा र भुसाल फरक ध्रुवका राजनीतिमा छन् । एउटाले बौद्धिक नेताको परिचय बनाएका छन् भने अर्कोले कम राजनीतिक चरित्र बनाएको भन्ने चर्चा र परिचर्चा समाजमा व्याप्त छ ।

तर चुनावी चलखेलमा भुसाल बोहोराभन्दा कम अनुभवी नेता हुन् । रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका लागि यसपटक रोचक संयोग मिलेको छ , बौद्धिक छान्ने कि अलिक पैसा र हाईफाई भएको नेता छान्ने ।

वामपन्थी गठबन्धनबाट एमाले उपमहासचिव भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बोहोरा चुनावी मैदानमा छन् । रुपन्देही सदरमुकाम भैरहवा सहितको भूभाग समेटिएको उक्त निर्वाचन क्षेत्रमा यसपटक रुपन्देहीको सर्वाधिक चासोको चुनाव हुँदैछ ।

यस्तो दीपक बोहोराको सम्पत्ति विवरण


हाल स्वास्थ्य मन्त्री रहेका बोहोराले पछिल्लो पटक भने सम्पत्ति विवरण पेश गरेका छैनन् । अघिल्लो पटक प्रचण्ड नेतृत्वको सरकारमा समेत मन्त्री बनेका बोहोरा धनाढ्यको सूचीमा रहेको देखिन्छ । बोहोराले सार्वजनिक गरेको विवरणलाई नै आधार मान्ने हो भने उनी करोडपति होइनन् , अर्बपतिमा सूचीकृत हुन लायक छन् ।

पछिल्लोपटक चर्चित आयल निगमको जग्गा खरिद काण्डमा समेत उनको संलग्नता देखिएको आरोप लागेको छ । उद्यपी उनी सो कुरा स्वीकार गर्दैनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका त्यसबारे छानबिन भइरहेको छ । तर निष्कर्ष भने आएको छैन । विगतको राजनीतिक घटनाक्रमलाई नियाल्ने हो भने बोहोरा जसरी पनि चुनाव जित्ने र शक्तिमा रहने भन्ने मान्यताबाट पे्ररित छन् ।

मन्त्री बोहराको आफ्नो र उनका आफन्तका नाममा समेत बालुवाटारमा तीनवटा घर रहेको छ । ती घरको मूल्य मात्रै लगभग आधा अर्बको हाराहारीमा पुग्ने देखिन्छ । माधवकुमार नेपाल नेतृत्वको सरकारमा वनमन्त्री रहेका उनले त्यतिबेला अर्को एउटा घर थपेका थिए ।

मन्त्री दीपक बोहरासँग ०६६/०६७ सालमा काठमाडौ महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा २ वटा साढे दुईतले घर थिए । यो तथ्य उनले त्यसबेला माधव नेपाल सरकारको वनमन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यतिबेला मन्त्री बोहोराको आफ्नै नाममा दुई रोपनी जमीन थियो । सोही जमीनमा सँगै दुई तले घर पनि रहेको उल्लेख छ । यस्तै सोही स्थानमा श्रीमती उन्नति बोहराका नाममा १५ आनामा अर्को दुई तले घर रहेको
त्यसबेला मन्त्री बोहोराले बालुवाटारमै श्रीमती उन्नति बोहराका नाममा ८ आना जग्गा छ ।

बालुवाटारमा रहेका तीनवटा घर मध्ये दुईवटा घर उनको आफ्नै नाममा छन् भने एउटा घर श्रीमतीका नाममा छ । मन्त्री बोहोराले आफ्नो सम्पत्ति विक्रीबाट उक्त घरहरु खरिद गरेको भनी सम्पत्ति विवरणमा उल्लेख गरेका थिए । ती घर ‘पैतृक सम्पत्ति’ भएको उल्लेख गरेका छन् ।

मन्त्री दीपक बोहराका नाममा ललितपुरको लुभुमा ४ रोपनी ३ आना जमिन थियो । यो उनले मन्त्री भएकै बर्ष ०६६ सालमा खरिद गरेका थिए । यस्तै बोहरा र चन्द्र प्रकाश श्रेष्ठको संयुक्त नाममा रुपन्देहीमा ४ विघा १५ कट्ठा जमीन छ ।

केपी ओली नेतृत्वको सरकारमा ०७२ सालमा मन्त्री बनेका बोहरासँग काठमाडौ भद्रकालीमा २ सय ८७ वर्ग मिटर जमिन देखिएको छ । यस्तै काठमाडौंको गोठाटारमा २ सय वर्ग मिटरको अर्को घडेरी छ । यसलाई उनले २९ लाखमा खरिद गरेका छन् । त्यस्तै बोहोराले काभ्रेको पाँचखालमा ९ रोपनी जमिन रहेको समेत विवरणमा उल्लेख छ ।

बोहरासँग हाल काभ्रेपलाञ्चोक पाँचखालमा ३ रोपनी १२ आना जमीन छ । उनले यो जमीन ३ लाख ६५ हजारमा खरिद गरेको जनाएका छन् ।

बोहोरासँग अहिले काठमाडौंको खड्का भद्रकालीमा २८७ वर्गमिटरमा फैलिएको घडेरी छ । उनले आफ्नो सम्पत्ति विक्री गरेर १७ लाख १६ हजारमा यो जमीन खरिद गरेको उल्लेख गरेका छन् ।

यस्तै बोहोराले काभ्रेको पाँचखालमै अर्को कित्ता ५ रोपनी १० आना जमीन
२९ लाखमा खरिद गरेको जनाएका छन् । काठमाडौं गोठाटारमा २०० वर्ग मिटरमा फैलिएको घडेरी पनि २९ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ ।

मन्त्री बोहरासँग १ सय २० तोला सुन छ । यस्तै तीन सेट हिराको गहना र घरमा १५ लाख नगद छ । योमध्ये उनीसँग १० लाख र श्रीमतीसँग ५ लाख रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री बोहरासँग ०६७ सालसम्म बैंक अफ काठमाडौमा ३० लाख रकम थियो । सो बैंकमा उनको विभिन्न ६ वटा खाता रहेका छन् । त्यसमा १३ लाख नगद मौज्दात रहेको देखिन्छ ।

प्रचण्ड नेतृत्वको सरकारको बेला आपूर्ति मन्त्रीको हैसियतले पेश गरेको विवरणमा उनले अहिले उनीसँग बैंक अफ काठमाडौमा १ करोड ४० लाख रुपैया बैंक मौज्दात रहेको देखाएका थिए । विभिन्न बैंकमा हाल बोहरासँग करिब १ करोड ५० लाख मौज्दात मात्रै होइन १९ हजार अमेरिकी डलर देखिन्छ ।

उनले विभिन्न पाँच कम्पनीका ५ लाख ४५ हजार कित्ता शेयर रहेको थियो । हाल बोहरासँग ६ लाख ३ हजार ३ सय ६५ कित्ता शेयर देखिन्छ ।

सक्रिय राजतन्त्रदेखि गणतन्त्रसम्म आउँदा करीव ३० वर्षको बीचमा बोहरा दश पटक मन्त्री भएका छन् । आगामी निर्वाचनमा उनी कांग्रेसका नेता बालकृष्ण खाँणले छाडेको क्षेत्रबाट उम्मेदवार भएका छन् । खाँड भने समानुपातिकमा बसेका छन् र काँग्रेस प्रचार समितिको प्रमुख छन् ।

‘राजनीतिक जोगी’ तर आर्दशवादी भुसाल

नेपाली वामपन्थी आन्दोलनमा प्रखर वक्ता तथा माक्र्सवादी चिन्तकका रुपमा परिचित घनश्याम भुसाल साझा बामपन्थी उम्मेदवारका रुपमा मैदानमा उत्रएिका छन् ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका भुसाल नेपाली कम्युनिस्ट आन्दोलनका विचारक, प्रचारक भुसाल राजनीति सिद्धान्तका आधारमा चल्नुपर्ने धारणा राख्छन् ।

जनतालाई झूठो आश्वासन नदिने भन्दै निर्वाचन प्रचारका लागेका कारण उनले २०७० सालको निर्वाचनमा मात्रै ८८ मतले काँग्रेस नेता खाँडसँग पराजित भएका थिए । भुसालको आदर्शले चुनावमा जितेन बरु उनी हारे , स्थानीय एमाले कार्यकर्ताले अहिले पनि त्यतिबेलाको कुरा सम्झन्छन् ।

भुसालले हालसम्म तीन पटक चुनाव लडे । आगामी उनको चौथो चुनाव हो । विगतमा एक पटक जीत र दुई पटक हार व्योहोरे । उनीसँग तीन रोपनी जग्गा, सगोलमा केही अन्य सम्पति मात्रै देखिन्छ । माक्र्सवादको भास्यकार उनलाई एमाले कार्यकर्ताले नै ‘राजनीतिक जोगी’को उपमा दिने गरेका छन् ।

हाल भुसाल र बोहरला निर्वाचन लडन लागेको रुपन्देही ३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोदन गाउँपालिकाका सबै वडा समेटिएका छन् । त्यस्तै बुटववल उपमहानगरपालिकाका १४ देखि १९ वडा पनि यही क्षेत्रमा समेटिएका छन् । तिलोत्तमा नगरपालिकाका १३ र १४ वडाका साथै मायादेवी गाउँपालिकाका ७ र ८ वडा तथा ओमसतिया गाउँपालिकाको २ नम्बर सोही क्षेत्रमा पर्दछ ।


क्लिकमान्डु