युगाण्डामा नेपालीले बनाए यस्तो बाटो



एक साताअघि गैरआवासिय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष हिक्मत थापाले आफ्नो फेसबुक वालमा युगाण्डामा नेपाली बनाइरहेको एउटा बाटोको तस्बिर पोस्ट गरे ।

नेपाली इन्जिनियर कृतिबहादुर थापाको नेतृत्वमा रहेको टोलीले युगाण्डामा कम्पाला इन्टेबे एक्सप्रेस वे बनाइरहेको छ ।

एक्सप्रेसवेको एउटा तस्बिर थापाले पोस्ट गरेका थिए । यो तस्बिर अहिले सामाजिक संजालमा भाइरलसमेत भएको थियो ।

खाडी र मलेसियाको विकास दक्ष र अदक्ष नेपालीले ठूलो भूमिका निर्वाह गरेका थिए । काम गर्न जाने दायरा अहिले अफ्रिकासम्म फराकिलो बन्दै गएको छ ।

काठमाडौंको सुकेधारा घर भएका कृतिबहादुर थापा युगाण्डा पुगेको ४ वर्ष पुग्यो ।

द्वन्द्वको चपेटामा परेको युगाण्डा विस्तारै आर्थिक विकासमा लम्कदै छ । चीनको सहयोगमा बन्न लागेको ५१.२ किलोमिटर बाटोको इन्जिनियरिङ मुख्य काम थापाको नेतृत्वमा नेपाली टोलीले गरिरहेको छ ।

‘यहाँ काम गर्न स्वतन्त्र ढंगले पाइन्छ, कुनै दवाव छैन,’ थापाले युगाण्डाबाट क्लिकमाण्डूसँग भने, ‘यो प्रोजेक्टमा म बाहेक केही नेपालीहरु कार्यरत रहेका छौं ।’

अफ्रिकाको युगाण्डा र नेपालबीच केही समानता छन् । दुवै देश भूपरिवेष्ठित हुन् भने आन्तरिक द्वन्द्वको मार दुवैले भोग्नु पर्यो ।

सन् १९६२ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि युगाण्डा आन्तरिक द्वन्द्वको चपेटामा पर्यो । अहिले पनि युगाण्डा गरीबकै देशमा पर्छ ।

अहिले युडान्डको प्रतिव्यक्ति आम्दानी ७ सय अमेरिकी डलर छ । जुन नेपालको भन्दा कम हो । नेपालको प्रतिव्यक्ति आम्दानी ८ सय ३७ अमेरिकी डलर रहेको छ ।

नेपाली इन्जिनियरि थापाले काम गर्ने कम्पाला एक्सप्रेस वे चीन सरकारको सहयोगमा निर्माण भएको हो । ४७ करोड ६० लाख अमेरिकी डलरमा यो प्रोजेक्टको निर्माण गरिएको हो ।

युगाण्डामा रहेको इन्जिनियर थापाले यसभन्दा अगाडि इथोपियाको युनिक ब्रिज निर्माणमा संलग्न थिए । कानपुर विश्वविद्यालयबाट इन्जिनियरिङमा मास्टर गरेका थापाले नेपालमा पनि विभिन्न परियोजनामा काम गरेका थिए ।

थापाले काम गरेको प्रोजेक्ट युगाण्डाको विकासको लागि भने एउटा नयाँ कोसेढुंगा हो । युगाण्डा को यो पहिलो एक्सप्रेस वे हो ।
२६ अर्ब अमेरिकी डलर रहेको युगाण्डा अर्थतन्त्रको आकार नेपालको हाराहारीमा छ ।

अफ्रिकामा रोजगारीको लागि जाने नेपालीको संख्या भने पछिल्लो १० वर्षमा बढेको छ । एनआरएनएका कोषाध्यक्ष थापा आफै नाइजेरियामा बस्छन् । त्यहाँको व्यवसायिक घराना डाङ्गोटे ग्रुपमा काम गर्ने थापाको अग्रसरतामा डाङ्गोटेले नेपालको सिमेन्ट क्षेत्रमा लगानी गर्न खोजेको छ ।

युगाण्डामा अहिले ३ सयको हाराहारीमा नेपाली रहेको थापा बताउँछन् । नेपालमा पूर्वाधार विकासको लागि काम गर्नको लागि जटिलताहरु धेरै रहेको उनको बुझाई छ ।

‘इन्जिनियरिङसँगै होटलमा काम गर्ने नेपालीको संख्या बढ्दो छ,’ थापाले भने, ‘होटलहरु काम गर्ने नेपालीहरु बढ्दै छन् ।’

अफ्रिकामा काम गर्न जाने नेपाली अन्यत्र भन्दा सम्बन्धित क्षेत्रका विज्ञता हासिल गरेर जाने हुन्छन् । जसको कमाई पनि राम्रो हुने गरेको छ ।

थापा आफै अफ्रिकामा गएको धेरै वर्ष भइसक्यो । अफ्रिकामा आर्थिक प्रगति गर्दै गएको इथोपियाबाट युगाण्डामा सरेका थापा काम गर्नका लागि यहा निकै सजिलो रहेको बताउँछन् । नेपालमा पूर्वाधार विकासको लागि काम गर्नको लागि जटिलताहरु धेरै रहेको उनको बुझाई छ ।

‘स्वतन्त्र ढंगले नेपालमा आफ्नो काम गर्न पाइदैन,’ उनले थपे, ‘विज्ञहरुलाई स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ ।’

तस्बिर :थापाको फेसबुक


पुष्प दुलाल