आइएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर नेपाल आउँदै




काठमाडौं । अन्तराष्ट्रिय मुद्राकोष (आइएमएफ) का डेपुटी म्यानेजिङ डाइरेक्टर टाओ झ्याङ ४ दिने नेपाल भ्रमणमा आउने भएका छन् । उनी शुक्रबार (भोलि) नेपाल आएर आगामी सोमबार फर्कने कार्यक्रम छ ।

उनले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, निजी क्षेत्रका प्रतिनिधि तथा नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारी लगायतका ब्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

झ्याङको नेपाल भ्रमणको अबसर पारेर नेपालको अर्थतन्त्रको अबस्था तथा केन्द्रीय बैंकले अबलम्बन गरेका नीति तथा कार्यान्वयनको अबस्थाका बारेमा नेपाल राष्ट्र बैंकको तर्फबाट प्रस्तुतीकरण पनि रहेको छ । उनी सो प्रस्तुतीकरणमा पनि सहभागी हुनेछन् ।

झ्याङ नेपालको अर्थतन्त्रको बर्तमान अबस्था, चुनौति तथा द्धीपक्षीय हितबारे छलफल गर्न नेपाल आउन लागेका हुन् । नेपाल राष्ट्र बैंकको गभर्नर डा. चिरन्जीबी नेपाल आइएमएफको बैठकमा सहभागी हुँदा उनलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।

झ्याङ सन् २०१६ को २२ अगस्टमा आइएमएफको डेपुटी म्यानेजिङ डाइरेक्टर बनेका हुन् । उनी चीनको केन्द्रीय बैंकको डेपुटी गभर्नर भइसकेका ब्यक्ति हुन भने सन् २०११ देखि सन् २०१५ सम्म आइएमएफको तर्फबाट चीनकै लागि कार्यकारी निर्देशक समेत भइसकेका थिए । उनले अमेरिकाको क्यानिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्र बिषयमा विद्यावारिधि गरेका छन् ।


क्लिकमान्डु