सात पटकका अर्थमन्त्री रिस्क जोनमा, एक पटकका अर्थमन्त्री सेफ जोनमा



नुवाकाेट १ का उम्मेदवार डा. महत

काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दुई पूर्वअर्थमन्त्री चुनावी मैदानमा छन् । डा. रामशरण महत र वर्षमान पुन प्रत्यक्ष रुपमा मैदानमा उत्रिएका हुन् ।

सहज छैन महतलाई
नुवाकोटबाट २०४८ साल बाहेक हरेक निर्वाचन जित्दै आएका डा. महत यस पटक नुवाकोट क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । सो निर्वाचन क्षेत्रमा दुप्चेश्वर गाउपालिका, पन्चकन्या गाउपालिकाको वडा नम्वर ३ र ४, शिवपुरी गाउपालिका र तादी गाउपालिका पर्छन् । यस्तै लिखु गाउपालिका, ककनी गाउपालिका, सूर्यगढी गाउपालिका र पन्चकन्या गाउपालिकाको वडा नम्वर १, २ र ५ सो निर्वाचन क्षेत्रमा पर्दछन् ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको तथ्यांकलाई आधार मान्ने हो भने सो निर्वाचन क्षेत्रमा पूर्व अर्थमन्त्री डा. महतलाई यस पटक निर्वाचन जित्न निकै सकस पर्ने देखिन्छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङ सो क्षेत्रमा उनको विपक्षी उम्मेदवबारका रुपमा प्रस्तुत भएका छन् । २०६४ र २०७० को संबिधानसभा निर्वाचनमा दुवै पटक डा. महतसँग पराजित भएका तामाङले यस पटक पराजित नहुने दावी गरेका छन् । उनको दावी गत स्थानीय तहको निर्वाचनको मत परिमाणका आधारमै आएको देखिन्छ ।

गत स्थानीयतह निर्वाचनमा यस क्षेत्र अन्र्तगतका शिवपुरीमा काग्रेसले ३८१८, एमालेले ३५३२ र माओवादी केन्द्रले २४१३, दुप्चेश्वरीमा काग्रेस ३७१४, माओवादी ३३०३ र एमाले २२३९ र तादी गाउपालिकामा काग्रेस ३०९०, एमाले २७३७ र माओवादी २३६५ प्राप्त गरेका थिए । पन्चकन्या गाउपालिकाको भने यस क्षेत्रमा वडा नम्वर ३ र ४ मात्रै पर्ने भएकोले ती दुई वडामध्ये वडा नम्वर ३ मा माओवादीले ५०४, काग्रेसले ३७५, एमालेले ३४५ मत र वडा नम्वर ४ मा माओवादीले ८५२, काग्रेसले ६१९ र एमालेले ४१४ मत प्राप्त गरेका थिए ।

गत स्थानीय निर्वाचनको मतका आधारमा हेर्दा पूर्व अर्थमन्त्री मध्ये डा. महत निर्वाचनका लागि रिस्क जोनमा छन् भने अर्का पूर्व अर्थमन्त्री पुन भने सेफ जोनमा रहेका छन् ।

यो क्षेत्रमा काग्रेसले कूल ११ हजार ६१६, माओवादीले ९ हजार ४३७ र एमालेले ९ हजार २६७ मत प्राप्त गरेका थिए । यस हिसावले हेर्दा एमाले माओवादी गठवन्धनसँग १८ हजार ७०४ मत देखिन्छ भने काग्रेस वाम गठवन्धन भन्दा ७ हजार ८८ मतले कमजोर देखिन्छ ।

स्थानीय तह निर्वाचनमा सूर्यगढी गाउपालिकामा काग्रेसले ३२००, एमालेले २३८५ र माओवादीले १८५४, लिखु गाउपालिकामा काग्रेसले २४२५, एमालेले १८६२ र माओवादीले १३४७ र ककनी गाउपालिकामा माओवादीले ४५३४, काग्रेसले ३५५१ र एमालेले ३४०३ मत प्राप्त गरेका थिए ।

पन्चकन्याको यस क्षेत्रमा पर्ने वडामध्ये वडा नम्वर १ मा माओवादीले ३७७, काग्रेसले २३२, एमालेले २१५, वडा नम्वर २ मा एमालेले १००८, काग्रेसले ८०५ र माओवादीले २९८ वडा नम्वर ५ मा काग्रेसले ६९१, माओवादीले ५६१ र एमालेले ३९५ मत प्राप्त गरेका थिए । कुलमा काग्रेसले १० हजार ९०४, एमालेले ९ हजार २६८ र माओवादीले ८ हजार ९७१ मत प्राप्त गरेका थिए । यस हिसावले हेर्दा यो प्रदेशमा वाम गठवन्धनको १८ हजार २३९ मत देखिन्छ । वाम गठवन्धनको मुल मत भन्दा काग्रेस ७ हजार ३३५ मतले पछाडी छ ।

यी तथ्यका आधारमा हेर्दा डा महतलाई निर्वाचन यस पटक फलामको च्यूरा चपाउनु सरह नै भएको छ ।

यस्तो छ पुनको अबस्था
उता रोल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसको तर्फबाट अमरसिंह पुनसँग हुनेछ ।

रोल्पामा गत स्थानीय तहको निर्वाचनमा रोल्पामा वाम गठबन्धनले कुल २५ हजार २ सय ३९ मत पाएको थियो भने नेपाली कांग्रेसले १६ हजार ५ सय ९६ मत पाएको थियो ।

राेल्पाबाट उम्मेदवार बनेका पुन

यो आधारमा हेर्दा सो जिल्लामा वाम गठबन्धन नेपाली कांग्रेसभन्दा ८ हजार ६ सय ४३ मतले अगाडि छ । निर्वाचनका लागि रोल्पामा १ लाख २७ हजार ६ सय ६८ मतदाता छन् ।

२०७० को संविधानसभाको दोस्रो निर्वाचनको मतका आधारमा विश्लेषण गर्न भने यस पटक नमिल्ने देखिएको छ । किनकि निर्वाचन क्षेत्र घटेका कारण त्यसैलाई आधार मान्न सकिने अवस्था छैन । हामीले गत स्थानीय निर्वाचनको मतका आधारमा हेर्दा पूर्व अर्थमन्त्री मध्ये डा. महत निर्वाचनका लागि रिस्क जोनमा छन् भने अर्का पूर्व अर्थमन्त्री पुन भने सेफ जोनमा रहेका छन् ।


क्लिकमान्डु