उपत्यकामा मोनोरेलः चिरिबाबुले आशयपत्र बुझाएको ३ महिना बित्यो, विद्यासुन्दर चुपचाप



काठमाडौं । स्थानीय तहको चुनाबका बेला काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेद्वार रहेका विद्यासुन्दर शाक्यले आफूले चुनाब जिते महानगरभित्र रेल कुदाउने एजेण्डा अघि सारे ।

अस्तव्यस्त सडक र ट्राफिक जामले हैरान भएका महानगरबासीले रेल कुदाउँछु भन्ने उम्मेद्वार शाक्यलाई अत्यधिक मतले जिताए पनि । काठमाडौं महानगरले नयाँ मेयर पाएको ५ महिना वितिसक्यो । तर, रेल कुदाउने कुनैपनि सुरसार गरेको छैन ।

काठमाडौंको छिमेकी ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनले मेयरको चुनाब जिते । महर्जनले चुनाबमा जाँदा रेल कुदाउने कुनै योजना प्रस्तुत नै गरेका थिएनन् ।

तर, अहिले चिरिबाबुले उपत्यकामा मोनोरेल कुदाउनका लागि आवश्यक पर्ने प्रक्रिया अघि बढाइसकेका छन् भने काठमाडौंका मेयर विद्यासुन्दर चुपचाप बसेका छन् ।

ललितपुर महानगरले मलेसियन कम्पनीको संयुक्त लगानीको काठमाडौं मोनोरेल प्रालिलाई उपत्यकाको मोनोरेलका लागि संभाव्यता अध्ययन तयार गर्न ३ महिनाअघि नै आशयपत्र (लेटर अफ इन्टेन्ट) दिइसकेको छ ।

उपत्यकाको यो मोनोरेलको सञ्जाल करिब ३० किलोमिटर लामो हुनेछ प्रारम्भिक अनुमान छ ।

तर, काठमाडौं महानगरले संभाव्यता अध्ययनका लागि आशयपत्र दिन नसक्दा उपत्यकामा मोनोरेल कुदाउने काम अघि बढ्न सकेको छैन ।

गत असार २७ गते काठमाडौं र ललितपुरका मेयर शाक्य र महर्जनबीच काठमाडौंको बुढानिलकन्ठबाट ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने निर्णय गरेका थिए । दुई मेयरबीची सँगै आशयपत्र दिने भन्ने पनि सहमति भएको थियो ।

ललितपुरकी उपमेयर भन्छिन्– काठमाडौंले काम नगर्दा समस्या

‘हामीले आशयपत्र दिएको ३ महिना भइसक्यो, काठमाडौंले अझैसम्म बुझाएको छैन, काठमाडौंले आशयपत्र नदिएसम्म यो प्रक्रिया अघि बढ्नै सक्दैन,’ ललितपुर महानगरकी उपमेयर गिता सत्यालले क्लिकमाण्डूसँग भनिन् ।

काठमाडौं महानगरले पनि आशयपत्र बुझाएपछि मलेसियन संयुक्त लगानीको काठमाडौं मोनोरेल प्रालिले लगानी बोर्डमा १० करोड रुपैयाँ धरौटी बुझाएर संभाव्यता अध्ययनको काम सुरु गर्नेछ ।

‘उक्त कम्पनी बोर्डमा १० करोड धरौटी बुझाउन पनि तयार छ, तर, काठमाडौंले आशयपत्र नदिएका कारण मोनोरेल सम्बन्धी थप प्रक्रिया अघि बढ्न सकिरहेको छैन,’ सत्यालले भनिन् ।

विदेशी कम्पनीहरुले काठमाडौं महानगरभित्र मात्रै रेल चलाउँदा बजार नपुग्ने भन्दै उपत्यकाभरी नै रेल सञ्जाल गर्नुपर्ने सुझाब दिएका छन् । त्यसैले काठमाडौं र ललितपुरका महानगरका मेयरबीच उपत्यकाका अन्य स्थानीयतहरुमा पनि रेलवे कनेक्टिभिटी जोड्ने सहमति भएको थियो ।

विदेशी कम्पनीहरुले भक्तपुरका ठिमी र सूर्यबिनायक लगायतलाई जोड्दा मात्रै रेलका लागि बजार पुग्ने देखिएको बताउँदै आएका छन् ।

रेल मेरै एजेण्डाको, काम गरिरहेको छुः विद्यासुन्दर

काठमाडौं महानगरका मेयर शाक्यले भने विभिन्न कारणबस आफूले सोचेजति काम गर्न नसकेको बताए ।

‘मोनोरेलको विषयमा पनि हामी काम गरिरहेका छौं, तर विविध कारणबस अहिलेसम्म हामीले आशयपत्र दिन सकेका छैनौं,’ मेयर शाक्यले क्लिकमाण्डूसँग भने, ‘केही समयभित्रै रेलसम्बन्धी भएका काम र गर्न लागेका कामहरु सार्वजानिक गर्नेछौं ।’

काम देखाउन पार्टी नेतृत्वको दबाब

काठमाडौंमा रेल कुदाउनु पर्छ भन्ने आफ्नो चुनाबी एजेण्डा भएकाले आफू संवेदनशील भएर लागि परिरहेको उनले सुनाए ।

काठमाडौंका मेयरले काम गर्न नसक्दा आगामी संसदीय चुनाबमा पार्टीलाई असर पर्छ भन्दै पार्टी नेतृत्वबाट पनि मेयरलाई रेल लगायतका विषयमा केही निर्णय गर्न दबाब दिइरहेको एमालेका तर्फबाट निर्वाचित एक वडाध्यक्षले जानकारी दिए ।

‘संसदको चुनाबअघि नै केही काम गर्न मेयरसाबलाई पार्टी नेतृत्वबाट तीब्र दबाब छ, हामी एक/दुई सातामै धेरै निर्णयहरु गर्ने तयारी गरिरहेका छौं,’ ती वडाध्यक्षले भने ।

यसकारण मलेसियन कम्पनीलाई संभाव्यता अध्ययनको जिम्मा

चीन र मलेसिया लगायतका केही देशका आधादर्जन कम्पनीले उपत्यकामा मोनोरेल बनाउन प्रस्ताब गरेका थिए ।

तर, दुई मेयरबीच चाइनिज कम्पनीभन्दा मलेसियन कम्पनी राम्रो र छिटो काम गर्ने भएकाले संभाव्यता अध्ययनदेखि निर्माणसम्म मलेसियन कम्पनीलाई दिने सहमति भएको थियो ।

लगानी बोर्डका सीइओ भन्छन्- मोनोरेल थाहा छैन, मेट्रो रेलको टेन्डर यसैवर्ष

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) महाप्रसाद अधिकारीले विभिन्न कम्पनीहरुले गरेको अध्ययन हेर्दा उपत्यकामा मोनोरेल भन्दा मेट्रोरेलको संभावना धेरै रहेको देखिएको जानकारी दिए ।

‘मेयरसाबहरुबीच मोनोरेल चलाउने छलफल भएको छ, तर विभिन्न अध्ययनले उपत्यकामा मोनोरेलभन्दा मेट्रोरेलको बढी संभावना देखिन्छ,’ अधिकारीले भने, ‘ उहाँहरुले के कस्ता काम गरिरहनु भएको छ, अहिलेसम्म मेरो जानकारीमा छैन । लगानी बोर्डले भने यसैवर्ष मेट्रो रेलका २ वटा लिग निर्माणका लागि बोलपत्र आह्वान गर्छ ।’


पुष्प दुलाल