पुननिर्माण प्राधिकरणका नवनियुक्त सिइओ भुसाल भन्छन्- ३ महिनामा देखिनेगरी काम हुन्छ



राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गरिने बताएका छन् ।

मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछि उनले सरोकार भएका सबै निकायलाई समन्वय गरी आगामी माघ २ गतेको भूकम्प दिवससम्म देखिने परिणाम निकालिने बताए ।

भुसालले प्राधिकरणमा भइरहेका कामलाई दु्रत गतिमा अगाडि बढाउने बताउँदै भूकम्पपीडितका घर र ऐतिहासिक सम्पदाको पुनःनिर्माणलाई एकसाथ अगाडि बढाउने योजना रहेको सुनाए ।

‘ राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु, भूकम्पपीडितको घर निर्माण सम्पन्न गराई मुहारमा खुशी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ’, उनले भने ।

यसअघि अर्थसचिवबाट सेवानिवृत्त भुसालले विभिन्न मन्त्रालयमा अनुभव सँगालेका छन् । अर्थसचिवबाट सेवानिवृत्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक नियुक्त भएका थिए । उनी सरकारी सेवामा २०३७ मा शाखा अधिकृतबाट प्रवेश गरेका थिए । रासस


क्लिकमान्डु