ठमेल जाँदै हुनुहुन्छ ? यहाँ पार्किङ गर्नुहोस्



काठमाडौं । सरकारले आइतबारदेखि पर्यटकीय नगरी ठमेलमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । सवारी साधनको डिडभाडले ठमेल कुरुप भएको निष्कर्श निकाल्दै सरकारले सवारी साधन प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

ठमेलभित्र गाडी वा मोटरसाइकल प्रवेस निषेध भएसँगै कहाँ पार्किङ गर्ने त ? यो ठमेलबासी र ठमेल जान चाहनेहरुको साझा प्रश्न हो ।

पार्किङका लागि व्यवस्था गरेर ठमेलमा सवारी साधन प्रवेशमा रोक लगाइएको ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

‘हामीले पार्किङको व्यवस्था गरेर ठमेलमा सवारी साधन प्रवेश निषेध गरेका हौं,’ खनालले क्लिकमाण्डूसँग भने, ‘अब कर्मचारी सञ्चय कोषअघिको सडक, त्रिवेणी मार्ग, खुसीबु, सोह्रखुट्टेमा पार्किङ गरेर हिँड्डै ठमेल जान सकिने छ ।’

काठमाडौं महानगरपालिका वडा नं. २६ अर्थात् ठमेल क्षेत्रका वडाध्यक्ष खेम तिवारीले पूरै ठमेलमा सवारी साधन निषेध गर्ने दीर्घकालिन योजनासहित अहिले ५/७ सय मिटर क्षेत्रमा मात्रै सवारी साधन निषेध गरिएको जानकारी दिए ।

तत्कालका लागि कर्मचारी सञ्चय कोषअघिको सडक, त्रिवेणी मार्ग, खुसीबु, सोह्रखुट्टेमा पार्किङ गर्न सकिने र त्यसपछि शिक्षा मन्त्रालय रहेको केशरमहल, र लैनचौरस्थित समाज कल्याण परिषदको खाली रहेको जग्गामा पार्किङ बनाउनका लागि कुराकारी भइरहेको तिवारीले बताए ।

‘पर्यटकीय नगरी ठमेललाई राम्रो र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो,’ तिवारीले क्लिकमाण्डूसँग भने, ‘आगामी १/२ वर्षभित्र पूरै ठमेलमा सवारी साधन प्रवेशमा प्रतिबन्ध लगाइने छ ।’

ट्राफिक प्रमुख खनालका अनुसार राति १० बजेपछि अत्यावश्यक सवारी साधन (पानी र खाद्यान्न लगायत बोकेका) प्रवेश गर्न पाउने छन् ।

‘यसरी राति पानी, खाद्यान्नलगायतका सवारी साधन चलेपछि रात्रिकालीन रोजगारीको सिर्जनासमेत हुन्छ,’ उनले भने, ‘कतिपय देशमा २४सै घन्टा खुल्ने शहरहरु छन्, हाम्रो नेपालमा पनि ठमेललाई २४सै घन्टा खुलाउन पाए अर्थतन्त्रलाई टेवा मिल्थ्यो ।’

आगामी केही दिन प्रहरीले निषेधित क्षेत्र बारे जानकारी दिने र केही दिनपछि निषेधित क्षेत्रमा गाडी लैजानेलाई कानून बमोजिम कारबाही गर्ने उनले ताए ।

काठमाडौं महानगरका निर्वाचित प्रतिनिधिहरुले ठमेललाई २४सै घन्टा खुलाउनु पर्ने बताउँदै आएका छन् । तर, अहिलेसम्म निर्णय भने गर्न सकिरहेका छैनन् ।

यो पनि पढ्नुहोस्– लैजाउ घुमाउन मलाई ठमेल बजार, पैदल हिडाउँदै… 


पुष्प दुलाल