एक करोड २७ लाख रुपैयाँमा भूकम्पबाट प्रभावित लाङटाङ क्षेत्रका पदमार्ग मर्मत



फाइल

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको मुख्य पदमार्ग मर्मत तथा ‘ट्रस ब्रिज’ (पुल) निर्माण कार्य सम्पन्न गरेको छ ।

टानले एक करोड २७ लाख रुपैयाँ बराबरको सो परियोजना गत भदौ (सेप्टेम्बर २०१७) मा सम्पन्न गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

विसं २०७२ वैशाख १२ (७ दशमलव ६ रिक्टर) को गोरखा भूकम्पबाट देशको तेस्रो प्रमुख पदमार्ग लाङटाङ सबैभन्दा बढी क्षतिग्रस्त भएको थियो । मुख्य पदमार्ग पुनःनिर्माणसँगै पदयात्रा पर्यटन प्रवद्र्धनका साथै नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वमा पुर्याउन सफल भएको टानले जनाएको छ ।

‘रिस्टोरेशन अफ ट्रेकिङ एण्ड ट्रान्सपोर्टेसन ट्रेल इन लाङटानङ भ्याल्ली’ नाम दिइएको उक्त परियोजनाका लागि जर्मन अल्पाइन क्लब (डिएभी)ले एक लाख युरो सहयोग गरेको थियो । त्यसमाथि दश प्रतिशत टानले आफ्नो आन्तरिक श्रोत तथा स्थानीय श्रमदानबाट सहयोग गरेको हो ।

सो परियोजनाका लागि डिएभी, टान र स्थानीय साझेदारी संस्था लाङटाङ म्यानेजमेन्ट एण्ड रिकन्ट्रक्सन कमिटी (एलएमआरसी)बीच विसं २०७३ चैत (अप्रिल २०१६) मा त्रिपक्षीय सम्झौता भएको थियो । करिब १७ महिनाको अवधिमा पुनःनिर्माणको काम सकिएको हो ।

परियोजनाका संयोजक एवं टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले नेपालको तेस्रो मुख्य पदमार्ग लाङटाङको पदमार्ग मर्मत तथा ट्रस ब्रिज निर्माणले आन्तरिक तथा विदेशी पर्यटकको चहल पहल बाक्लिएको बताउनुभयो ।

पदमार्ग मर्मतसँगै लाङटाङ क्षेत्रका होटलमा अहिले पर्यटकको चाप बढेको छ । अघिल्लो वर्ष आठ हजारभन्दा बढी पर्यटक पुगेको लाङटाङमा यो वर्ष बढी पर्यटक पुग्ने अनुमान गरिएको व्यवसायी गुरुङले बताए ।

उनकाअनुसार पाँच भागमा विभाजन गरी प्रत्येक भागमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण र मर्मत कार्य सम्पन्न गरिएको थियो । परियोजनाअन्तर्गत छुनाम र घोडा तबेला बीचको भागमा डाइभर्सन गरी पदमार्ग तयार गर्न समुद्री सतहदेखि दुई हजार ८५४ मिटरको उचाइमा रहेको छुनाममा ३२ मिटर लामो ट्रेल ल ट्रस ब्रिज निर्माण गरिएको छ । उक्त पुलको निर्माण कार्य सम्पन्न भएपछि यही असोज १८ गते डिएभीका उपाध्यक्ष जुर्गेन इप्पल र टान महासचिव कर्ण लामाले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा जर्मनका विभिन्न सञ्चारमाध्याममा कार्यरत आठ सञ्चारकर्मीसहित १३ सदस्यीय डिएभी प्रतिनिधिमण्डल लाङटाङ पुगेको थिए ।

त्यसैगरी लाङटाङ क्षेत्रमाअवस्थित शेर्पा गाउँदेखि घोडा तबेलासम्मको भागमा पदमार्ग मर्मत, चौडा गर्ने, सिडी निर्माण गर्ने तथा पहिरोमा ग्याविन राख्ने तथा स्याल्याब राख्ने काम गरिएको छ भने अर्को भाग लाङटाङ खोला पुलदेखि रिम्चेसम्मको भागको पदमार्गमा ग्याविन राखी पहिरो र बाढीको प्रभाव कम गर्न तथा सिँढी निर्माण गरिएको छ ।

त्यस्तै लाङटाङ उपत्यकाको घोडा तबेलादेखि क्यान्जिङ गुम्बासम्म बिग्रेर भत्किएका पदमार्ग मर्मत गर्ने र हिम पहिरोबाट छोपिएको लाङटाङ गाउँ नजिकको पहिरो सफा गरी पदमार्ग खोलियो । अनि पहिरो र वाम्बुबीचको भागमा पहिरोहरुमा बाटो खोल्ने चौडा गर्ने र सिडी निर्माणको काम पनि गरिएको छ ।

टानका अध्यक्ष चन्द्र रिजालले परियोजनाको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै सरकारले पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

महासचिव कर्णबहादुर लामाले यसको निर्माणले नेपाल सुरक्षित रहेको सन्देश फैलाउन तथा आन्तरिक र विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु