हिमाल आरोहण गर्न १०७ आरोहण दलले अनुमति लिए
काठमाडौँ । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ ।
पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म केही नेपालीसहित १०७ आरोहण दलले आरोहण अनुमति लिएका छन् ।
आरोहीहरु अक्टोबर महिनाभरि आउने भएकाले यो संख्या अझै बढ्ने विभागको अनुमान छ । विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अघिल्लो वर्ष यही मौसममा १५० आरोहण दलले आरोहण अनुमति लिएका थिए ।
अघिल्लो वर्षको संख्या र अवधिलाई हेर्दा यो वर्ष आरोहीको संख्या बढ्ने देखिन्छ ।
भारत, युरोप अमेरिकालगायत मुलुकबाट आएका कतिपय आरोहीले आरोहण शुरु गरिसकेका छन् ।