साउन र भदौमा ३५ अर्व २७ करोड राजस्व संकलन



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४/७५ को साउन र भदौ महिनामा २२ प्रतिशतले बढि राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ भाद्र महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्व ६७ करोड ९१ लाख ३९ हजार रुपैयाँ रहेकोमा ३५ अर्व २७ करोड ३ लाख ४९ हजार रुपैयाँ संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको हो ।

यो राजस्व असुली गत वर्षको असुलीको तुलनामा भने २२ प्रतिशतले बढि हो ।

सो अवधिमा सबैभन्दा धेरै राजस्व सरकारले आयकरमार्फत उठाएको छ । जसमा आयकर तर्फ १४ अर्व २३ करोड १७ लाख ११ हजार रुपैयाँ असुली भएको छ, सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९२ प्रतिशत मात्र हो ।

त्यसैगरि दोस्रो स्थानमा सरकारले सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर उठाउन सफल भएको छ । जसअन्तर्गत १२ अर्व ८९ करोड ९६ लाख ८३ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर उठाएको छ । यो रकम लक्ष्यको तुलनामा ९७ प्रतिशत मात्र रहेको छ ।

त्यसैगरी अन्तःशुल्क तर्फ ७ अर्व ७३ करोड २० लाख १६ हजार रुपैयाँ संकलन भएको छ, जून लक्ष्यको तुलनामा अन्तशुल्क तर्फ १०५ प्रतिशत रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

सबैभन्दा कम राजस्व संकलन शिक्षा सेवा शुल्कमार्फत भएको देखिएको छ । शिक्षा सेवा शुल्कमा विभागले १५ करोड ६५ लाख ८४ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ, जून रकम लक्ष्यको तुलनामा केबल ८८ प्रतिशत मात्र भएको विभागको ठहर छ ।

त्यसैगरी स्वास्थ्य सेवा कर २५ करोड ३ लाख ६१ हजार रुपैयाँ संकलन भएको छ, जून लक्ष्यको तुलनामा ७३ प्रतिशत रकम संकलन हो ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत रहेको छ ।

आन्तरिक राजस्व विभागलाई आर्थिक वर्ष २०७४/७५ का लागि २ खर्व ९९ अर्व ९१ करोड ३७ लाख ४५ हजार रुपैयाँ लक्ष्य तोकिएको छ ।


क्लिकमान्डु