कर छल्ने ५ सय ९ करदाता कारवाहीमा, अनुगमन तीब्र




काठमाडौं । आन्तरिक राजस्व विभागले ५ सय ९ करदातालाई कारबाही गरेको छ । बिभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ ।

विभाग अन्तर्गतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३÷३ वटा टोली परिचालन गरिएको थियो ।

बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउंदै दशैं, तिहार जस्तो चाडवाडको समयमा बढी कारोवार हुने र सो क्रममा विल विजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले बजार अनुगमनलाई तिव्रता दिइएको जनाएको हो ।

भदौ २७ गतेका दिन मात्र ८४ वटा अनुगमन टोलीले ३८५ वटा करदाताको अनुगमन गरी ४० वटा करदाताहरुलाई कारोवार स्थलमै तत्काल कानूनी कारवाही गरिएको विभागले बताएको छ ।

त्यसैगरी भदौ २८ गतेका दिन ६७ वटा टोलीले ६७२ वटा करदाताको कारोवार स्थल आकस्मिक रुपमा अनुगमन गरेकोमा १२७ वटा करदाताहरुले कर कानून परिपालना नगरेको पाइएको हुंदा १२७ करदातालाई प्रचलित कर कानून बमोजिम जरिवाना गरेको विभागले जनाएको छ ।

भदौ २९ गते ६५ वटा अनुगमन टोलीले ६५० वटा करदाताको अनुगमन गरेकोमा १०३ वटा करदाताहरुलाई प्रचलित कानून बमोजिम जरीवाना गरेको जनाएको छ । त्यस्तै भदौ ३० गते ५० वटा टोलीले ४८१ वटा करदाताको अनुगमन गरेर ७३ करदातालाई कारवाही गरेको तथा असोज १ गते ४८ वटा टोलीले ४७८ करदाताको अनुगमन गर्दा ७१ करदाताहरुले कर कानुनको परिपालना नगरेको देखिंदा कार्यस्थलमै कारवाही गरियो ।

त्यसैगरी असोज २ गते ५२ वटा कर अधिकृतको टोलीले गरेको अनुगमनमा ५२० करदाताको कारोवार अनुगमन गरी ९५ करदाताहरुलाई कारवाही गरेको थियो । विगत ६ दिनमा ३६६ टोलीबाट ३१८६ वटा करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ५०९ करदातालाई जरिवाना तथा अन्य कानुनी कारवाही गरेको विभागले जानकारी दिएको छ ।

अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ ।

अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको बिभागले जनाएको छ ।


क्लिकमान्डु