प्रधानमन्त्री देउवाले भने- मतदान गर्न सहज हुने मतपत्र बनाउनुस्



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन कार्य सञ्चालन गर्न सरल र मतदातालाई मतदान गर्न सहज हुने किसिमले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतपत्र तयार गर्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवा तथा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी मंसिरमा सञ्चालन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिने मतपत्रको प्रारम्भिक ढाँचाका सम्बन्धमा भएको छलफलमा प्रधानमन्त्री देउवाले सो सुझाव दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन सम्पन्न गर्न छोटो समय उपलब्ध भएको सन्दर्भमा मतपत्र छोटो समयमै छपाइ गरी मतदान केन्द्रसम्म पु¥याउन सकिने गरी आयोगले मतपत्रको प्रारम्भिक ढाँचा तयार गरेको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबाट प्रस्तुत विचारलाई समेत ध्यान दिएर आयोगले मतपत्र तयार गरी छपाइ गर्ने बताएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

छलफलमा प्रमुख राजनीतिक दलका नेताहरु रामचन्द्र पौडेल, शशाङ्क कोइराला, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पूर्णबहादुर खड्का, राजेन्द्र पाण्डे र डा मीनेन्द्र रिजालको सहभागिता थियो ।

साथै, निर्वाचन आयुक्तहरु ईला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल पनि छलफलमा उपस्थित थिए ।


क्लिकमान्डु