तामाकोशीले पायो रोल्बालिङ डाइभर्सनको लाइसेन्स




काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२ मेगावाट क्षमताको रोल्वालिङ खोला डाइभर्सन आयोजनको अनुमतिपत्र पाएको छ ।
विद्युत् विकास विभागले सो आयोजनाको अनुमतिपत्र गत भदौ २५ गते आयोजनालाई हस्तान्तरण गरेको हो ।

माथिल्लो तामाकोशी आयोजनामै रोल्वालिङ खोलाको पानी मिसाउन यसअघि अध्ययन गरिएको भएपनि नयाँ आयोजना नै बनाउँदा थप राम्रो हुने निष्कर्षका साथ आयोजनाको अनुमतिपत्र दिइएको हो ।

दोलखाको छेतछेतदेखि तत्कालिन गौरीशंकर गाविसको रिखु गाउँसम्म करिब २ किलोमिटर लामो केवलकार निर्माणको तयारी भइरहेको छ । केवलकारबाटै निर्माण सामग्रीलगायत ढुवानीको योजना बनाइएको छ ।

माथिल्लो तमाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले रोल्बालिङ डाइभर्सनको अनुमतिपत्र प्राप्त भएको बताए ।

‘आयोजनाका नाममा विभागले अनुमतिपत्र दिएको छ, अब त्यसको काम पनि अगाडि बढ्छ,’ उनले भने ।

तामाकोशीको जलाशय रहेको स्थानभन्दा करिब २५० मिटर माथि रोल्वालिङ खोलाको पानी प्रयोग गरेर २२ मेगावाट विद्युत् उत्पादन गरिने र सो पानी तामाकोशीको जलाशयमा नै खसालिनेछ ।

सो आयोजनाबाट वार्षिक करिब १६ करोड युनिट विद्युत् थप उत्पादन हुने छ ।

बालुवा थिग्य्राउने बेसिन र विद्युतगृह मात्रै थप बनाएर २२ मेगावाटसम्मको आयोजना बनाउन सकिने भएपछि आयोजनालाई आर्कषक आयोजनाको रुपमा लिइदै आएको थियो ।

डाइभर्सनसहित थप पानीसमेत उपलब्ध हुने भएपछि माथिल्लो तामाकोसीमा वार्षिक १७ करोड युनिट विद्युत् थप हुने आयोजनाले जनाएको छ ।

रोल्वालिङ डाइभर्सनबाट करिब ८० मेगावाट बराबरको उर्जा उत्पादन हुन्छ । सो डाइभर्सन निकै सस्तो बनाउन पनि सजिलो हुने तामाकोशी आयोजनाको भनाइ छ ।

डाइभर्सनका लागि हालसम्म भएको अध्ययनअनुसार करिब ७ किलोमिटर सुरुङ बनाउनुपर्ने छ । त्यसको विस्तृत इन्जिनियरिङ डिजाइन समेत तयार भइसकेको आयोजनाले जनाएको छ ।

‘आयोजनाको लागत तय गर्ने काम भइरहेको छ, बल्ल अनुमतिपत्र प्राप्त भयो, हामी सबै पक्षसँग छलफल गरेर लगानी जुटाउँछौ’ आयोजनाका एक अधिकारीले भने । रोल्वालिङ डाइभर्सन माथिल्लो तामाकोशी आयोजनाको लागि अर्काे ब्लू चिप्स बन्न सक्ने आयोजनाको दाबी छ ।

आयोजनाले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतलाई लगानीका लागि आग्रह गर्ने तयारी समेत गरेको छ । ती संस्थाले माथिल्लो तामाकोशीमा लगानी गरेका छन् ।

रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकटमा रहेकाले त्यहाँसम्म पुग्न भौगोलिक जटिलता भने छ ।

यसका लागि दोलखाको छेतछेतदेखि तत्कालिन गौरीशंकर गाविसको रिखु गाउँसम्म करिब २ किलोमिटर लामो केवलकार निर्माणको तयारी भइरहेको छ । केवलकारबाटै निर्माण सामग्रीलगायत ढुवानीको योजना बनाइएको छ ।


क्लिकमान्डु