माथिल्लो तामाकोशीमा अर्को उपलब्धी, भर्टिकल साफ्ट टनेल ब्रेक थ्रु



काठमाडौं । माथिल्लो तामोकोशी जलविद्युत् आयोजनाको सबैभन्दा गार्रो मानिएको भर्टिकल साफ्ट् टनेल ब्रेक थ्रु भएको छ ।

विद्युत् गृहमा पानी ल्याउने टनले मध्येको सबैभन्दा अप्ठ्यारो मानिएको सो टनेल ३२२ मिटर लामो रहेको थियो ।

आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले भने, ‘विश्वकर्मा पूजाको दिन यो खुसीको खबर साटन पाउँदा मलाई खुसी लागेको छ, ३१ भदौको दिन असाध्यै महत्वपूर्ण मानिएको भर्टिकल साफ्ट टनेल ब्रेक थ्रु भएको छ । यो कार्य सम्पन्न भएपछि भर्टिकल स्टिल लाइनिङ जडानका लागि समेत मार्ग प्रशस्त भएको छ ।’

भूकम्पको चपेटामा परेको आयोजना पछिल्लो समयमा युद्धस्तरमा अगाडि बढेको छ । आयोजनाको कार्यप्रगति ९० प्रतिशत भन्दा माथि पुगेको छ ।

आगामी असार अन्त्यमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेले आयोजनाको कार्यप्रगति दैनिक जसो नै राम्रो अवस्थामा रहेको र तोकिएको समयमा पूरा गराउन समेत आफूहरु प्रतिवद्ध रहेको बताए ।

हिजो एउटा महत्वपूर्ण उपलब्धी हासिल भयो, आयोजनाको अप्ठ्यारो काम मध्येको एउटा काम सम्पन्न भएको छ । उक्त सुरुङमा अब स्टिलको लाइनिङ जडान गरिने उनले बताए ।

आयोजनाको काम तिव्र रुपमा अगाडि बढेपनि प्रसारण लाइन र सवस्टेशन निर्माण कार्यले गति लिन नसक्दा विद्युत् खेर जाने हो कि भन्ने आशंकाले भने आयोजना र नेपाल विद्युत् प्राधिकरणलाई भने नराम्ररी सताएको छ ।


क्लिकमान्डु