अन्धकारको खतराबाट यसरी जोगियो काठमाडौं



काठमाडौं । मस्र्याङ्दी – काठमाडौं  १३२ केभी प्रसारण लाइनमा समस्या आएपछि बिहीबार साँझ ६.४० बजे एकाएक विद्युत् प्रसारण कटौती भयो ।

मानिसहरुले ठाने लौ फेरी लोडसेडिङ हुने भयो । भार प्रेषण केन्द्रका अनुसार काठमाडौँ मस्र्याङदी १३२ केभी क्षमताको प्रसारण लाइनको जम्पर चुडेपछि मस्र्याङ्दी कोरिडोरबाट काठमाडौं आयात भइरहेको करिब ३०० मेगावाट भन्दा बढी विद्युत् एकाएक कटौती भयो ।

ठूलो परिमाणको विद्युत् कटौती भएपछि प्राधिकरणको भार प्रेषण केन्द्रले काठमाडौँ हेटौडा १३२ केभी, खिम्ती ढल्केबर २२० केभी प्रसारण लाइनबाट काठमाडौंमा थप विद्युत् आपूर्ति गर्यो र अन्धकार हुनबाट जोगायो ।

काठमाडौं मस्र्याङ्दी प्रसारण लाइनको स्यूचाटार खण्डमा प्रसारण लाइनको जम्पर एकाएक चुड्दा समस्या आएको भार प्रेषण केन्द्रका डेपुटी म्यानेजर दिपक धितालले जानकारी दिए । उनका अनुसार रातभर लगाएर जम्पर जडान गरिएको थियो ।

प्रसारण प्रणालीमा समस्या आएपछि काठमाडौं  आयात गरिएको विद्युत् कटौती गरेर तराई पठाइएको थियो ।

प्रसारण प्रणाली मध्ये सबैभन्दा जोखिम प्रणालीका रुपमा काठमाडौं मस्र्याङ्दी प्रसारण लाइनलाई लिने गरिन्छ । यसअघि पनि गत असार १७ मा ९२ दिन लगाएर सोही प्रसारण लाइन अन्र्तगतको टावर नं १७८ र १८० बीचको टावर पुनः मर्मत गरिएको थियो ।

सो टावर मर्मतमा मात्रै २ करोड ७० लाख खर्च भएको थियो ।


क्लिकमान्डु