कार्यक्रम के हो थाहा छैन, ऊर्जामन्त्री उडे अष्ट्रेलिया



काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही दलबलसहित ८ दिने अष्ट्रेलिया यात्रामा निस्केका छन् । घोषित कुनै कार्यक्रम नभए पनि मन्त्री शाही आगामी असोज १ गतेमात्रै स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमण दलमा संसद् मातहतको कृषि तथा जलस्रोत समितिका सभापति मोहन बराल, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदसमेत छन् ।

तर कार्यक्रम के हो ? र, भ्रमणको प्रयोजनका बारेमा सार्वजनिकरुपमा केही बताइएको छैन ।

यही भदौ २४ गते ८ सदस्यीय टोली लिएर अष्ट्रेलिया उडेका मन्त्री शाहीको टोलीमा जल तथा ऊर्जा आयोगका सचिव मधुसुदन अधिकारी, आयोगकै २ कर्मचारीसमेत सहभागी छन् ।

‘जलस्रोत क्षेत्रको अध्ययन भनेर मन्त्रीज्यूलगायतको टोली अष्ट्रेलिया गएको छ, कार्यक्रम के हो हामीलाई पनि जानकारी भएन,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।

प्राधिकरणका अधिकाशं आयोजना समस्यामा फसेको, आगामी हिउँदमा लोडसेडिङ फर्कने आशंका कायम रहेको र अन्य नीतिगत विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने समयमा मन्त्री शाही विदेश उडेपछि सबै काम रोकिने भएका छन् ।

मन्त्री शाहीको सचिवालयले भने जलस्रोत क्षेत्रको विकास र विस्तारका विषयमा महत्वपूर्ण अध्ययन गर्ने लक्ष्यका साथ अष्टे«लियाको भ्रमणमा गएको जानकारी दिएको छ ।


पुष्प दुलाल