श्रमिकका हक दिलाउन सरकारसँग भिड्न तयार– जिफन्ट अध्यक्ष विष्णु रिमाल



काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकका जायज हक स्थापित गराउन सरकारसँग भिड्ने चेतावनी दिएका छन् ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष रिमालले सो कुरा बताएका हुन् ।

‘कार्यक्षेत्रमा एकजना श्रम निरिक्षक आफैंले आफ्नै साथीबाट नियुक्त गर्नुस्, यूनियन मैत्री एक÷एक जना राख्नोस् । ती देशभरका श्रमिकलाई हामी तालिम दिन्छौं । जहाँ कानुन र हकसम्बन्धी कुरो तलमाथि परेको छ किटेर आएको उजुरी वा मुद्धाको आधारमा सरकारसँग भिड्ने काम महासंघले गर्छ,’ उनले भने ।

३ दिन अगाडि श्रम ऐन २०७४ राष्ट्रपतिबाट लालमोहर लागेको उल्लेख गर्दै उनले अब १ जनालाई मात्रै पनि श्रममा लगाउँदा श्रम ऐन लागु हुने उल्लेख गरे । ऐनले अब प्रत्येक श्रमिकले काम सुरु गरेको दिनदेखि नै संचयकोष र उपदान लगायतका सुबिधाको ग्यारेन्टी गरेको उनले बताए ।

कार्यक्रममा आईएलओ गभर्निङ बडिका सदस्य बिन्दा पाण्डेले नेपालको मजदुर आन्दोलन तुलनात्मकरुपमा सानो देखिएपनि विश्वमाझ यसको पहिचान भने ठूलो रहेको बताईन् । उनले बिदेशमा जाने एकजना श्रमिकले नेपालको प्रतिनिधित्व गर्ने भन्दै पर्यटनको विकास र विस्तारमा ती मजदूरहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् ।

यस्तै नेस्वहोमयूका अध्यक्ष सूर्य कुँबरले होटल मजदुरका सुबिधा रोक्ने र खोस्ने पर्यत्नलाई परास्त एबै यूनियनबीच एकता हुनुपर्ने धारणा राखे । उनले वर्गीय आन्दोलनका लागि सबैले योजनाबद्ध ढंगले सामूहिक लडाई लड्नुपर्ने बताए ।

कार्यक्रममा पर्यटन र होटल क्षेत्रका विभिन्न प्रतिष्ठानलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा नेस्वहोमयू अन्नपूर्णका श्रमिकले आफ्नो तीजको खर्च कटाएर बचाएको ४० हजार रुपैंया बाढीपिडितका लागि जिफन्टको कोषमा प्रदान गरिएको थियो ।


क्लिकमान्डु