बेलायती राजकुमार विद्यालय भर्ना
लण्डन । बेलायतका राजकुमार जर्जको विद्यालय यात्रा बिहीबार चार बर्षे उमेरमा सुरु भएको छ ।
बुबा विलियमले हातले डोर्याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लगेका थिए । प्रारम्भिक तहको सो विद्यालय दक्षिणपश्चिमी लण्डनमा रहेको छ ।
राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उनलाई विद्यालय पुर्याउने बेलामा सँगै जान सकिनन् ।
राजकुमारी क्याथेरिन तेस्रो बच्चा जन्माउनका लागि गर्भवती भएकाले केही दिनदेखि आराम गरिरहेको केन्सीङटन दरबारले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरुले राजकुमार जर्ज विद्यालय समय भरी विद्यालयको पोशाकमै रहने जनाएका छन् । विद्यालय पोशाकको रुपमा रहेको गाढा निलो सर्ट र ज्याकेट, रातो लामो मोजा र कालो जुत्ता उनले लगाउने छन् ।
उनले पढ्ने कक्षाकोठमा उनीसँगै अरु २० जना छात्रहरु पनि रहने भएका छन् । उनको डेस्क लगायतका सामान उनकै नाममा हुनेछ ।
विद्यालयका प्राधानाध्यापक बेन थोमसले राजदरबारका परिवारलाई विद्यालयमा कुनै खास र छुट्टै सेवा सुविधा र व्यवहार नहुने स्पष्ट पारे । तर अन्य छात्रहरूलाई झै उनलाई पनि शैक्षिक क्रियाकलापमा अत्यधिक सहभागीताका लागि धेरै योजना भने बनाइएको उनले बताए ।
राजकुमार जर्ज विद्यालयमा प्रवेश गरेको समयमा, एक जना फोटोग्राफर र एक जना क्यामेराम्यानले मात्रै फोटो र भिडियो खिचेका थिए ।
राजकुमार विलियमले आफ्नो छोराको गोपनीयताको ख्याल गरिदिन संचारकर्मीहरूलाई आग्रह गरेका थिए ।
झण्डै तीन दशक अगाडी राजकुमार विलियम पहिलो पटक विद्यालय जाँदा धेरै सञ्चार माध्यमहरूले त्यो क्षणको फोटो तथा भिडियो खिचेका थिए ।