नेपाल चाइनिज गाइड एसोसियसन स्थापना, चीनिया पर्यटक भित्र्याएर लाभ लिन राजदुतको सुझाव




काठमाडौं । चिनिया भाषामा पथ प्रदर्शन गर्ने चाइनिज गाइडहरुको संगठन नेपाल चाइनिज गाइड एसोसियसनको एक समारोहका बीच राजधानीमा उद्घाटन भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले एक समारोहकाबीच सो एसोसिएसनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री महराले पेशागत हकहितको आवाज संगठति रुपमा उठोस भन्ने उद्देश्यका साथ स्थापनका भएको संगठनको पूर्ण सफलताको कामना गरे ।

नेपालमा पछिल्लो समय उत्तरी छिमेकी चीनबाट नेपालमा भ्रमणको लागि आउने चिनियाँ पर्यटकको संख्या बढ्दो मात्रामा छ । बढ्दो चिनियाँ पर्यटकसँगै नेपालमा चिनियाँ गाइडको संख्या बढिरहेको छ । चिनियाँ गाइडहरुको व्यक्तित्व विकास र हकहित संरक्षण गर्ने पवित्र उद्देश्यले एसोसियसन निर्माण गरिएको हो ।

परराष्ट्र मन्त्री महराले चाइनिज गाइडहरुले पेशागत हकहितको लागि मात्र नभएर चिनिया पर्यटकलाई नेपालको कला संस्कृतिबारे सुसुचित गराएर नेपाल र चीनको बीचमा राम्रो सम्बन्ध कायम गर्न सेतुको काम गर्नुपर्ने बताए ।

चीन र नेपालबीचमा भृकुटीको पालादेखि नै राम्रो सम्बन्ध रहेको बताउँदै उनले नेपाल र चीनबीचमा घनिष्ट सम्बन्ध बनाइराख्न चाइनिज गाइडहरुको ठूलो योगदान रहेको जानकारी दिए ।

‘गौतम बुद्धको जन्मस्थल लुम्बिनी भविष्यमा ठूलो पर्यटकीय स्थल बन्ने सम्भावनालाई मध्यनजर गर्दैै चीनदेखि लुम्बिनीसम्मको यात्रा सहज होस भन्ने रणनीतिक उद्देश्य राखेका छौं,’ उनले भने ।

नेपाल र चीनबीच ६ वटा एयरलाइन्समार्फत जोडिए पनि सडक यातायात अन्तर्गत रेलसञ्जालमार्फत जोडिएमा छोटो समयमा नै नेपालको अर्थतन्त्रमा कायापलट गर्न सकिने विश्वास उनले व्यक्त गरे ।

उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदुत यु होङले १५ वर्ष अगाडि ८ हजारको हाराहारीमा रहेको चिनियाँ पर्यटक गत वर्षसम्ममा ११ गुणाले बढेर ९१ हजारभन्दा बढी पुगेको बताए । चिनियाँ पर्यटकको सुरक्षामा नेपाल सरकारले विशेष ध्यान दिएर सडक पूर्वाधारको विकास गर्न सकेमा थेग्नै नसक्ने चिनियाँ पर्यटक नेपाल भित्रिने उनको भनाइ छ ।

राजदुत होङले गत साता चितवन जलमग्न हुँदा फसेका १ सय भन्दा बढी पर्यटकको छोटो समयमै उद्धार गरेकोमा नेपाल सरकारको सराहना गरे । राजदुत होङले वर्षेनी १२ करोड चिनियाँ पर्यटकको रुपमा विदेश भ्रमण गरेर १ सय ९ अर्बभन्दा बढी खर्च गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै चिनियाँ पर्यटकको खर्च गर्ने क्षमतामा वृद्धि भएकोले चीनमा बढी प्रचार प्रसार गरेर चिनियाँ पर्यटक नेपाल भित्र्याएर नेपालको आर्थिक विकास गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रम नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले २० वर्षपछि स्थानीय चुनाव भएर निकट भविष्यमै प्रदेश र संसदको समेत चुनाव हुने वातावरण बन्दै गएकोले राजनीतिक स्थिरता रहेको सन्देश विदेशीहरुलाई दिएर बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउनुपर्ने बताए ।


क्लिकमान्डु