देउवाले गरे भारतबाट थप १०० मेगावाट बिजुली किन्ने सम्झौता



काठमाडौं । यो हिउँदमा नेपालले भारतबाट थप १०० मेगावाट बिजुली किन्ने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थप १०० मेगावाट बिजुली आयात गर्ने सम्झौता भएको हो ।

भारतीय सहयोगमा निर्माण भएको कटैया–कुसाह र परवानीपुर–रक्सौल अन्तरदेशीय प्रसारणलाइनको संयुक्तरुपमा उदघाटन गर्दै यस्तो सम्झौता गरेका हुन् । प्रधानमन्त्री द्वयले स्वीच थिचेर प्रसारणलाइनको उदघाटन गरे ।

यो सम्झौतासँगै आगामी हिउँदमा नेपालले भारतबाट थप विद्युत् आयात गरी लोडसेडिङ हुन नदिने घोषणालाई मूर्तरुप दिने बताइएको छ ।

अहिले रक्सौलङपरवानीपुर ३३ केभी क्षमताको प्रसारण लाइनबाट १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण निर्माण सम्पन्न भएसँगै भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ ।

अर्को महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइन कुशाहा- कटैयाको क्षमता पनि बढाइएको छ । जसको पनि बिहीबार उदघाटन गरिएको छ । यो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्न सकिने छ ।

हाल १३२ केभी क्षमताको प्रसारणलाइन कुशाहा-कटैयाबाट १०० मेगावाट विद्युत् आयात भइरहेको छ ।

आगामी हिउँदमा लोडसेडिङ हुन नदिने सरकारले भारतबाट ५ सय मेगावाट बिजुली किन्नसक्ने गरी प्रसारणलाइनको आफ्नो क्षमता बढाइसकेको छ । केही दिनअघि उर्जामन्त्रीले सार्वजानिक गरेको श्वेतपत्रमा पनि भारतसँग ५०० मेगावाट बिजुली किन्ने उल्लेख छ ।

गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो । गत तिहारदेखि लोड म्यानेजमेन्ट गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकालगायतका केही शहरमा लोडसेडिङ हुन दिएका छैनन् ।

आन्तरिक उत्पादन बढ्न नसकेकाले सरकारलाई विजुली आयात गरेरै भएपनि लोडसेडिङ हुन नदिने तीब्र दबाब छ ।

गत आर्थिक वर्ष विद्युत प्राधिकरणले भारतबाट २ अर्ब १७ करोड ५० लाख ४० हजार युनिट बिजुली १४ अर्ब २० करोड रुपैयाँ किनेको थियो ।


क्लिकमान्डु