पञ्चेश्वरको डीपीआर यसैवर्ष सकिने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुचर्चित पञ्चेश्वर जलविद्युत आयोजनाको विस्तृत परियोजना विकास प्रतिवेदन (डीपीआर) यसैवर्ष सकिने बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच यस्तो सहमति भएको बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपालसँग जलस्रोत भएको र त्यसबाट बिजुली निकाल्नका लागि भारतसँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए ।

२०५२ सालको माघमा नेपाल र भारतबीच भएको महाकाली सन्धिमा ६ महिनाभित्रै डीपीआर टुंगो लगाउने उल्लेख थियो । सम्झौताको १९ वर्षपछि ०७१ सालको साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा कार्यादेश पारित भएको थियो । यद्यपि अहिलेसम्म डीपीआर हुन सकेको थिएन ।

पञ्चेश्वर विकास प्राधिकरणले डीपीआर तयार गरिरहेको छ । प्राधिकरणले डीपीआर अन्तिम चरणमा पुगेको जनाइसकेको छ । आयोजनाको कूल विद्युत उत्पादन क्षमता ६ हजार ४ सय ८० मेगावाट हो ।

भारतले आफ्नो देशलाई फाइदा हुने गरी पानीको बाँडफाँड गरेको र २२ प्रतिशत पानीमात्र नेपालले पाउने गरी प्रस्ताव गरेको विज्ञहरुले आरोप लगाउँदै आएका छन् ।


क्लिकमान्डु