महाधिवेशन गरेको डेढ वर्ष वित्दा पनि कांग्रेसले सम्मेलनस्थलको भाडा तिरेन



काठमाडौं । २०७२ फागुनमा भएको नेपाली कांग्रेसको महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । अहिले कांग्रेस सभापति देउवा प्रधानमन्त्री छन् ।

महाधिवेशन गरेको डेढ वर्ष भएपनि कांग्रेसले सम्मेलन भृकृटीमण्डपको १२ लाख ३४ हजार रुपैयाँ भाडा तिरेको छैन ।

भृकृटीमण्डपमा हुने सभा सम्मेलन र त्यहाँ भएका पसलको जग्गा र भवनको स्वामित्व समाज कल्याण परिषद्को नाममा छ ।

परिषद्ले भृकृटीमण्डपमा कार्यालय संचालन गर्ने सम्मेलन मेला आयोजना गरेर भाडा नतिर्नेको नाम सार्वजनिक सूचना जारी गरेको छ ।

सूचना प्रकाशित भएको ३५ दिनभित्र भाडा नतिरेमा कानून बमोजिम प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सम्मेलन गर्दा लागेको सबै पैसा आफुले तिर्न भनेको बताउँछन् ।

‘भृकुटीमण्डपमा सम्मेलन गर्दा लागेको पैसा तिर्न बाँकी रहेको विषयमा मैले बुझ्नु पर्ने हुन्छ’, उनले क्लिकमाण्डूसँग भने ।

सम्मेलन गरेर भाडा नतिर्नेमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ रहेको छ । संघले ८ लाख ७८ हजार रुपैयाँ सम्मेलन गर्दा समय परिषद्लाई तिर्नुपर्ने छ । नेपाल विद्यार्थी संघको अधिवेशन गतवर्ष भदौमा भएको थियो । भदौमा भएको अधिवेशनले नयनसिंह महरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

सम्मेलन खर्च पार्टीले तिर्ने भनेको र यसको बारेमा अहिलेको कार्यसमितिलाई जानकारी नभएको नेपाल विद्यार्थी संघका उपाध्यक्ष डिल्ली सुवेदीले बताए ।

‘सम्मेलन आयोजक समिति पुरानो कार्यसमिति थियोे,’ सुवेदीले क्लिकमाण्डूसँग भने, ‘सम्मेलन गर्दा लागेको खर्चको बारेमा हामीलाई जानकारी छैन।’

समाज कल्याण परिषद्ले सार्वजनिक गरेको सूचनामा भृकृटीमण्डपमा विभिन्न व्यवसायिक संस्थाले पनि सम्मेलन गर्दाको पैसा तिरेका छैनन् । यसरी पैसा नतिर्ने संस्थामा नेपाल मोबाइल व्यवसायी संघले २ लाख, नेपाल फर्निचर संघले १ लाख ७५ हजार, नेपा कन्स्ट्रसनले ७ लाख ७७ हजार, ह्यापी डिलले ५ हजार ८५ हजार तिर्न बाँकी रहेको छ ।

भृकृटीमण्डपमा कार्यालय रहेका संस्थामा सबैभनदा बढी बालबालिकाको निम्ती गैर सरकारी संस्था महासंघले २० लाख रुपैयाँ भाडा तिरेको छैन । भृकृटीमण्डपमा भाडामा लिएका एक दर्जन व्यक्ति,संस्था व्यवसायिक पसलले भाडा नतिरेको देखिएको छ ।

यस्तै उपभोक्ता अधिकारको लागि खुलेको उपभोक्ता मंचले पनि २८ लाख रुपैयाँ भाडा तिर्न बाँकी छ ।

यस्तै उपभोक्ता अधिकारको लागि खुलेको केन्द्रीय उपभोक्ता सहकराीले संघले पनि ७३ हजार ५ सय ६७ रुपैयाँ भाडा तिर्न बाँकी रहेको छ ।

यस्तै पत्रकार महासंघको जिल्ला शाखा काठमाडौंले पनि १० लख ४१ हजार रुपैयाँ समाज कल्याण परिषद्लाई तिर्न बाँकी रहेको छ । पत्रकार महासंघको काठमाडौं जिल्लाको कार्यालय भृकृटीमण्डपमा रहेको छ ।

नेपाल प्यारा ओलम्पिक कमिटिले ५ लाख ७६ लाख,नेपाल नेत्रहिन संघले ३३ लाख,नेपाल अपांग समाज सहकायरीले २० लाख र नेपाल ह्वीलचियर संघले ८ लाख ६७ लाख भाडा तिरेका छैनन् ।


क्लिकमान्डु