प्राधिकरण र पिपल्स पावरबीच विद्युत् खरिद सम्झौता



काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ ।

प्राधिकरणमा सोमबार आयोजित  कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट भरतबहादुर खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।  इलाम जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता ४.९६ मेगावाट छ ।

सम्झौतानुसार हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षाकालमा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरले प्राधिकरणले विद्युत् खरिद गर्नेछ । आयोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ ।

प्रतिमेगावाट १८ करोड रुपैयाँ लागत रहेको उक्त आयोजनाको कुल लागत ९० करोड रुपैयाँ रहने छ । तीस करोड रुपैयाँ शेयर लगानी र बाँकी ६० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणबाट ऋण लिइने छ ।

आगामी एक वर्षभित्र ५० प्रतिशत निर्माण  गरी स्थानीय बासिन्दा र नागरिकका लागि शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने लक्ष्य राखिएको प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक भरतबहादुर खत्रीले जानकारी दिए।


क्लिकमान्डु