आन्तरिक उडानमा ठूला जहाज आउँदै, कुनसँग कति क्षमता ?




काठमाडौं । आन्तरिक वायुसेवा प्रदायक एयरलाइन्स कम्पनीहरुले पछिल्लो समय साना जहाज हटाउने र ठुला जहाज खरिद गर्ने प्रतिस्प्रर्धानै चलाएका छन् ।

स्थापनाकाल देखिनै साना जहाज मार्फत उडान भर्दै आएको यति एयरलाइन्सले समेत एटिआर-७२ जहाज मार्फत उडान सुरु गरेको छ । भने अर्को पनि आगामी सेप्टेम्बर भित्र जहाज ल्याउने तयारी एयरलाइन्सले गरेको छ ।

७२ सिट क्षमताको उक्त जहाज मार्फत सुगम क्षेत्रमा उडान गर्ने लक्ष्य एयरलाइन्सले गरेको छ । यतिले हाल जेट स्ट्रिम जहाज मार्फत उडान भर्दै आएको छ । एयरलाइन्ससंग हाल ३० सिट क्षमतका ३ वटा र २९ सिट क्षमताका ५ वटा गरी ७ वटा विमान मार्फ उडान भर्दै आएको छ । केही वर्ष भित्र सवै जहाज विस्थापन गर्दै ठूला जहाजमा केन्द्रित हुने लक्ष्य एयरलाइन्सले लिएको छ ।

साना डोर्नियर जहाज धमाधम बिक्री गरेको सिम्रिक एयरलाइन्स समेत ठुला जहाजमा केन्द्रित हुने तयारी गरेको छ । केही साता अगाडी मात्र सिता एयरलाई दुई वटा डोर्नियर जहाज बिक्री गरेको थियो । ‘अहिले पर्ख र हेरको अवस्थामा रहेका छौ, केही योजना ठुलो जहाजमै हो,’ सिम्रिक एयरलाइन्सका बजार प्रवन्धक प्रज्वल थापाले भने ।

विगतमा ठुला जहाज मार्फत उडान गर्ने एयरलाइन्स कम्पनीमा बुद्ध एयरको मात्रै रहेको थियो । नेपालमा साना र ठूला गरी ४ दर्जन विमानहरु रहेका छन् । जसमध्ये हाल एक दर्जन ठूला जहाज मार्फत एयरलाइन्स कम्पनीहरुले सुगम क्षेत्रमा उडान भर्दै आएका छन् ।

विगतमा सुगम क्षेत्रमा उडान भर्ने साना जहाजहरु केही दुर्घटनामा परेका थिए । भने केही अझै पनि दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ । यहि अवस्थामा ठूला विमान ल्याउने होड चलिरहेमा केही वर्ष भित्रै सुगम क्षेत्रमा उडान भर्ने साना विमान एयरलाइन्स कम्पनीहरु विस्थापन गर्न बाध्य हुने देखिन्छ ।

विगतमा साना १८ सिटरका जहाज मार्फत सुगम र दुर्गममा क्षेत्रमा उडान हुदैं आएको थियो । केही वर्षयता भने साना जहाज दुर्गममा क्षेत्रमा उडान भर्दै आएको भएता पनि सुगम क्षेत्रमा भने ५० सिट देखि ७२ सिटरसम्मका जहाजहरु उडान आउन थालेको छ ।

बुद्ध एयरले विगत लामो समय देखि एटिआर-४२ र एटिआर-७२ जहाज मार्फत उडान भर्दै आएको छ । बुद्ध केही महिना अगाडी मात्र एटिआर-७२ थप गर्दै ४ वटा पु¥याएको छ । भने एटिआर-४२ जहाज ५ वटा रहेको छ । बुद्ध एयरले अझै एटिआर-७२ थप्ने तयारी गरिरहेको छ ।

हेलिकप्टरबाट एयरलाइन्स तर्फ फड्को मारेको श्री एयरलाइन्सले ५० सिट क्षमताका दुईवटा बम्बार्डियर सीआरजे-२०० विमान र सीआरजे-७०० विमान काठमाडौं ल्याएर व्यवसायिक उडान सुरु गरेको छ ।

ठूला जहाज मार्फत उडान भर्दा धेरै यात्रु बोक्न सक्ने र संचालन खर्च कम हुने भएकोले सवै एयरलाइन्सहरु ठूला विमानमा केन्द्रित भएको बताउँछन श्री एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धर बताउँछन् । ‘साना जहाज मार्फत उडान भर्दा संचालन खर्च धेरै पर्दछ र यात्रु समेत कम बोक्ने भएकोले घाट हुन्छ,’ मानन्धरले भने ।

संचालनको सुरुवात देखिनै सौर्य एयरलाइन्सले ५० सिट क्षमताको बम्बार्डियर सिआरजे-२०० सिरिजको जहाज मार्फत उडान भर्दै आएको छ । भने केही महिना अगाडी मात्रै अर्को सिआरजे–२०० सिरिजको जहाज मार्फत उडान थालेको छ ।

निजी क्षेत्रका एयरलाइन्स मात्रै नभएर नेपाल वायुसेवा निगमको पनि ५६ सिट क्षमतका दुई वटा एमए-६० जहाज मार्फत उडान भर्दै आएको छ । विगतमा दुर्गम क्षेत्रमा मात्र साना जहाज मार्फत उडान भर्दै आएको निगमले हाल भने एमए-६० जहाज मार्फत सुगम क्षेत्रमा उडान भर्दै आएको छ ।

कुन एयरलाइन्ससंग कुन विमान

एयरलाइन्स विमान संख्या सिट क्षमता
बुद्ध एयर एटिआर–४२ र ७२ ९ वटा ४२ र ७२
यति एयरलाइन्स एटिआर–७२ १ वटा ७२
सौर्य एयरलाइन्स सिआरजे–२०० २ वटा ५०
श्री एयरलाइन्स सिआरजे–२००/७०० ३ वटा ५० र ७०
नेपाल वायुसेवा निगम एमए–६० २ वटा ५६ सिट


क्लिकमान्डु