यूनिट्राभको १२ औं राष्ट्रिय महाधिबेशन सम्पन्न



काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)का अध्यक्ष विष्णु रिमालले ढुक्क भएर सबै संस्थामा यूनियन खोल्न मजदुरहरुलाई आव्हान गरेका छन् । नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–कर्मचारी मजदुर यूनियन(यूनिट्राभ)को १२ औं राष्ट्रिय महाधिबेशन उद्घाटन गर्दै जिफन्ट अध्यक्ष रिमालले श्रम ऐनले गरेको व्यवस्था अनुरुप ढुक्क भएर यूनियन खोल्न र यूनियनमा लागेका श्रमिकलाई अन्तिम अवस्थासम्म पनि निकाल्न नपाइने बताए ।

‘अब यूनियनमा भाग लिन पाईन्न भनियो भने व्यवसायीको खराब आचरण भएको मानिनेछ । व्यवसायीलाई कारबाही हुनेछ । यूनियनका मानिसलाई अब अन्तिमसम्म निकाल्न पाईदैन । अब ढुक्क भएर यूनियन खोले हुन्छ । श्रम ऐनले यो व्यवस्था गरेको छ,’ उनले भने ।

नयाँ श्रम ऐनले व्यवसायीको आँखामा हेर्दा सबै श्रमिक अस्थायी भएको र मजदुरको आँखाबाट सबै स्थायी भएको बताए । मजदुरका जायज नीति नियम बनाउन सुझाव दिंदै त्यसको पक्षमा लडाई गर्न महासंघ संधै लागिपर्ने उनले बताए ।

उनले यूनिट्राभमा आबद्ध भएका मजदुरहरुले यो दुनियामा आफु मरेर पनि नेपाल, नेपालको मजदुर आन्दोलनलाई संसारमाझ चिनाएको बताए । किर्तिमानी आरोही स्व.दोर्जे खत्रीले क्लाईमेट चेन्जका बारेमा संसारमा महत्वपूर्ण सन्देश फैलाएको र उनको नामसँगै संसारले नेपाल, यूनिट्राभका साथै जिफन्टको नाम सँगसँगै लिने र यो नेपालको सम्पत्ति भएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले श्रमिकका जायज माग पूरा गराउन कुनैपनि व्यवसायीसँग नडराउन मजदुरलाई आग्रह गर्दै व्यवसायीले पनि मजदूर देख्नासाथ टाउको दुखाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा साधनस्रोतको गलत प्रयोग हुने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै मजदुरको मुद्धा सम्बोधन गर्न व्यवसायीहरुले इमान्दारिता देखाउनुपर्ने बताए ।

कार्यक्रममा आईएलओ गभर्निङ बढिका सदस्य विन्दा पाण्डेले व्यवसायीहरुले मजदुरहरुसँग सहकार्य गर्न आग्रह गर्दै यदि सहकार्य नभए बिद्रोह गर्न बाध्य हुने चेतावनी दिईन् । उनले मजदुरप्रतिको अन्यायलाई आवश्यक परे जिफन्टको सहयोगमा अन्तराष्ट्रियकरण गराएर उनीहरुलाई न्याय दिलाउने बताईन् ।

कार्यक्रममा २१ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा सहित १०० भन्दा बढि किर्तिमानी आरोहीहरुलाई सम्मान गरिएको थियो ।

महाधिबेशनबारे प्रकाश पार्दै यूनिट्राभका अध्यक्ष श्यामकुमार राई, महासचिव सुमन पराजुली लगायतले पर्यटन क्षेत्रका मजदुर नियम र बिधिसंगत ढंगले आफ्नो कार्यस्थलमा काम गर्ने र यदि कसैले हेप्ने/चेप्ने कार्य गरेमा कुनैपनि व्यवसायीलाई नछाडिने चेतावनी दिए ।


क्लिकमान्डु