सुन्दरीजल-गोकर्ण खण्डको ७ हजार रोपनीमा सेटेलाइट सिटी निर्माण हुने



काठमाडौं । काठमाडौंको सुन्दरीजल-गोकर्ण खण्डमा सेटेलाइट सिटी बनाउने प्रक्रिया सुरु भएको छ । बाग्मती नदी किनारको ७ हजार रोपनी जग्गामा व्यवस्थित शहरका लागि आवश्यक पुवार्धार निर्माण गर्न लागिएको हो ।

सो खण्ड अन्तर्गतको बाग्मती नदी किनारमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले करिडोर र पार्क निर्माण गरिरहेको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारले सुन्दरीजल गोकर्ण खण्डको खाली जमिनमा व्यवस्थित शहर बन्ने प्रक्रिया अगाडी बढेको जानकारी दिए ।

नदीको काम समितिले गरिरहेको छ, शहर कसले र कुन मोडलमा बनाउने भनेर नगरपालिका, समिति, सहरी विकास प्राधिकरणलगायतको बैठक बस्ने तयारीमा छ,’ चित्रकारले क्लिमाण्डूसँग भने ।

२०७० सालमा स्थानीय बासिन्दाले करिडोर र व्यवस्थित शहरका लागि लिखित सहमति गरेका थिए । त्यस समय समितिले बाग्मती नदी किनारको ७ हजार रोपनी क्षेत्रलाई व्यवस्थित शहर बनाउने जनाएको थियो ।

त्यसैगरी गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे नदी किनारमा व्यवस्थित शहर बनाउने बताउँछन् ।

‘शहरलाई कुरुप हुनबाट जोगाउनका लागि व्यवस्थित शहरको आवश्यक छ, जनताको पनि यहि चाहना भएकाले कुनै पनि हालतमा शहर बन्छ,’ चालिसेले भने ।

गोकर्णेश्वर नगरपालिकाका कार्यकारी प्रमुख विरेन्द्रदेव भट्टराईले सुन्दरीजल–गोकर्ण खण्डमा व्यवस्थित शहर बन्ने भन्ने कुरा धेरै पहिलेदेखि चर्चामा रहेको बताउँछन् ।

‘शहर निर्माणका लागि बैठक बस्दै छ भन्ने बाहिरबाट सुनेको छु, त्यस विषयमा अहिलेसम्म कुनै पनि आधिकारीक चिठी आएको छैन,’ भट्टराईले भने ।

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बनाउन लागिएको नयाँ शहरको अवधारणाका कारण सुन्दरीजल–गोकर्ण क्षेत्रमा बन्ने शहर ओझेलमा परेको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्त केशव न्यौपाने बताए ।


क्लिकमान्डु