दोक्लाम विवादको कारण सगरमाथाको उचाई नाप्ने अभियान रोकियो



काठमाडौं । भारत र चीनबीच दोक्लामको सिमा क्षेत्रमा भएको विवादको कारण सगरमाथाको उचाई मापन गर्ने अभियान रोकिएको छ ।

भारतीय हिन्दी अखबार जनसत्ताले सोमबार प्रकाशित गरेको समाचार अनुसार दोक्लाम विवादको कारण सगरमाथाको उचाई नाप्ने काम रोकिएको जनाएको छ ।

समाचार अनुसार दोक्लाम विवादपछि नेपाल सरकारले सर्वे काम रोक्ने निर्णय गरेको छ । गत साता उपप्रधान एव्म परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दोक्लाम विवादमा तटस्थताको नीति अपाउने बताएका थिए ।

भारतको सर्वे अफ इन्डियाले सगरमाथाको उचाई नाप्ने कामलाई निकै महत्वकाक्षीं परियोजनाको रुपमा लिएको थियो । नेपाल र भारतका दुवै वैज्ञानिकले सयुक्त रुपमा सगरमाथाको उचाई नाप्ने काम सुरु गर्नुपर्ने थियो । नेपाल सरकारले नै भारतलाई यसको लागि आग्रह गरेको थियो ।

सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको छ । २०७२ सालमा गएको भूकम्पपछि अन्तराष्ट्रिय संस्थाहरुले सगरमाथाको उचाई घटेको भन्दै आएका छन् । तर,यसको पुष्टी भने भएको छैन ।

शक्तिशाली भूकम्पपछि हिमालहरु उचाई घट्न सक्ने सम्भावना भने हुन्छ ।

सगरमाथाको उचाई नाप्ने अभियानमा ५ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान रहेको थियो ।

सगरमाथा नेपाल र चीनबीचको सिमानामा रहेको छ । सगरमाथाको चुचुरो नेपाली भूमिमा पर्छ ।

भारतीय पत्रिकाले नेपालले सगरमाथाको उचाई नाप्ने अभियान अहिलेलाई स्थगित गर्न खोजेकोमा असन्तुष्टी जनाएको छ ।

चीन र भारतीबीच विवाद भएको अवस्थामा नेपाल चीन सिमानामा भारतीय सरकारी संस्थालाई सगरमाथाको उचाई नाप्न दिने काम कुटनीतिक रुपमा राम्रो नहुँने कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।


क्लिकमान्डु