भारतबाट आयात हुने बिजुली केही सस्तो हुने, हिउँदमा थप १०० मेगावाट ल्याइने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्यूत्को नयाँ मूल्य निर्धारण भएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम ८ रुपैयाँ ८८ पैसा देखि अधिकतम १० रुपैयाँ ३२ पैसा प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नयाँदिल्लीमा रहेका नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले टेलिफोनमा दिएको जानकारीअनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मूल्य निर्धारण गरिएको छ । विशेषगरी सानो क्षमताको प्रसारण लाइनको हकमा बढी मूल्य तिर्नुपर्ने देखिएको छ ।

प्रवक्ता अधिकारीले ११ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट १०.३२ रुपैयाँ र ३३ केभीमा प्रतियुनिट ९.६० रुपैयाँ तिर्नुपर्नेछ ।

निर्णयअनुसार ५० मेगावाट भन्दामाथि वा १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत आयात हुने विद्युत्को मूल्य नेपालका लागि सस्तो हुने भएको हो ।

भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत्को मूल्य प्रतिवर्ष ५.५ प्रतिशतको दरले बढाउँदै आएको थियो । मंगलबार सम्पन्न बैठकले सो प्रावधानलाई हटाएर आपसी सहमतिमा विद्युत्को मूल्य निर्धारण गर्ने निर्णय गरेको छ ।

विगत ६ वर्षदेखि बस्न नसकेको बैठक प्राधिकरणमा नयाँ नेतृत्व आएपछि पहिलो पटक बसेको र त्यसले दुई देशबीच विद्युत् आयात तथा निर्यातका सम्बन्धमा तल्कालीन र दीर्घकालीन महत्वका निर्णय गरेको प्रवक्ता अधिकारीले बताए ।

गत मार्चसम्म प्राधिकरणले खरिद गर्दै आएको विद्युत्को मूल्य सोही बराबर नै रहेको थियो । नयाँ निर्णयअनुसार नेपालले अब कम क्षमताभन्दा पनि बढी क्षमताका प्रसारण लाइनमार्फत बढी विद्युत् आयात गरे मूल्य कमपर्ने देखिएको छ । अर्को बैठक सन् २०१८ को मार्चभित्र राखेर अर्को वर्षका लागि विद्युत्को मूल्य निर्धारण गरिने छ ।

भारतको उत्तर प्रदेश र नेपाल जोड्ने १३२ केभी क्षमताका तीनवटा तथा ३३ केभी क्षमताका दुईवटा अन्तरदेशीय प्रसारण लाइन निर्माणका बारेमा ऊर्जा सचिवस्तरीय दुई देशीय समितिको आगामी बैठकमा पेश गर्ने र अन्तिम निर्णय गर्ने सहमति भएको छ ।

यस्तै सन् २००७ सालदेखि बन्द अवस्थामा रहेको ३३ केभी क्षमताको धनगढी–पलिया प्रसारणलाइन आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने सहमति भएको छ । उक्त प्रसारण लाइनबाट दश मेगावाट विद्युत् आयात हुँदै आएको थियो ।

थप विद्युत् आउने

आगामी हिउँदमा विद्युत्भार कटौती पूर्णरुपमा अन्त्यका लागि सरकारले दुई अन्तरदेशीय लाइनमार्फत थप १०० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।

निर्माण सम्पन्न भएको ६ महिनाभन्दा बढी भए पनि रक्सौल-परवानीपुर र कुशाहा कटैया अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् आयात हुनसकेको थिएन ।

भारतीय पक्षले महँगो मूल्य प्रस्ताव गरेका कारण प्राधिकरणले वर्षाको समयमा ती प्रसारणलाइनबाट थप विद्युत् आयातको विषयमा निर्णय गर्नसकेको थिएन ।

नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले कटैया-कुशाहा र रक्सौल-परवानीपुर १३२ केभी नयाँ प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने निर्णय गरेको छ भने विद्युत्को मूल्य समेत तय गरेको छ ।

ती प्रसारण लाइनबाट ५०/५० मेगावाट विद्युत् प्रतियुनिट ८.८८ रुपैयाँमा आयात हुने प्रवक्ता अधिकारीले जानकारी दिए।

बैठकले तोकेको नयाँ मूल्य सन् २०१८ को मार्चसम्म कायम हुनेछ । आदानप्रदान समितिको निर्णयपछि आगामी हिउँदमा भारतबाट थप ११० मेगावाट विद्युत् आयात हुने भएको छ ।

हाल भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ । सो निर्णयपछि अब भारतबाट करिब ५०० मेगावाट विद्युत् आयात हुनेछ ।

थप प्रसारण लाइन निर्माणको प्रस्ताव

आदानप्रदान समितिको बैठकमा प्राधिकरणले भारतीय पक्षसँग तीनवटा १३२ केभी र दुईवटा ३३ केभी नयाँ प्रसारण लाइन निर्माणको प्रस्ताव राखेको छ ।

अधिकारीकाअनुसार पलिया-धनगढी र अत्तरिया, नानपारा-कोहलपुर र सम्पतीया-मैनैयामा १३२ केभी तथा नानपारा-खडिया र नौतनवा-भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको छ ।

बैठकको नेतृत्व नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रतिनिधिले गरेका थिए।

यसअघि बैठक सन् २०११ मा बसेको थियो । उक्त बैठक बस्न नसक्दा नेपालले आयात गर्दै आएको विद्युत्को मूल्य प्रतियुनिट रु ११ सम्म तिर्नु परेको थियो । रासस


क्लिकमान्डु