रौतहटमा खाल्डोमा पुरिएर चार बालिकाको डुबेर मृत्यु



सांकेतिक तस्बिर

रौतहट । रौतहटको गरुडा नगरपालिकामा चार बालिकाको आज डुबेर मृत्यु भएको छ ।

गरुडाबाट जिगडिया जाने बाटोमा पानी जमेको खाल्डोमा डुबेर चारजना बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा नगरपालिका–४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साह रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशब रेग्मीले बताए ।

मृतकका बाबुहरू दाजुभाइ हुन् । मृतक परिवारले दिएको जानकारीअनुसार चार दिदीबहिनी बिहान ११ बजे घाँस काट्न खेत गएका थिए । घाँस काटेर घर फर्कने क्रममा सडक छेउको खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा डुबेर उनीहरूको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

सडक मर्मतका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर चारैजना बालिकाको मृत्यु भएको प्रहरीले बताएको छ । गत जेठमा सडक डिभिजन कार्यालय रौतहटको लगानीमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो ।

मृतक चारैजनाको शवलाई परीक्षणका लागि गौर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस


क्लिकमान्डु