एनएमए निर्वाचनमा जिम्बाजाङ्बु र सन्तवीरको समूहबीच प्रतिस्पर्धा



फाइल

काठमाडौँ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचन भोलि शनिबार नक्सालमा हुँदैछ ।

बिहान ८ देखि साँझ ५ बजेसम्म हुने निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । एनएमएमा एक हजार ३९ मतदाता छन् ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र निर्वाचनलाई व्यवस्थित तथा मर्यादित बनाउन व्यवस्था मिलाइएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।

नयाँ नेतृत्वका उम्मेदवारी दिएका जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको छुट्टाछुटै समूहले विहिबारसम्म चुनावी प्रचारप्रसारलाई तीव्र पारेका थिए ।

दुवै समूहले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न छुट्टाछुट्टै व्यावसायिक भेला र छलफल गर्नुका साथै एसएमएसबाट समेत मतदातालाई आकर्षित गरिरहेका छन् ।

उम्मेदवार परिचयात्मक कार्यक्रममा भेटिएका अध्यक्षका प्रत्यासी शेर्पाले पुराना आरोही व्यवसायीको समूह भएकाले जित आफ्नो पक्षमा हुने दाबी गरे । उनले एनएमएको व्यावसायिक छविलाई जोगाउन आफ्नो समूहको नेतृत्व जरुरी भएको उल्लेख गरे ।

निर्वाचनको औपचारिक प्रचार बिहीबार सकिए पनि आजबाट एसएमएस प्रचार गरिएको एनएमए महासचिवका प्रत्यासी बोधराज भण्डारीले बताए ।

निर्वाचनमा शेर्पालाई नेपाली काँग्रेसनिकट नेपाल पर्यटन व्यवसायी सङ्घ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन छ भने लामालाई एमाले निकट राष्ट्रिय नेपाल पर्यटन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनले साथ दिएको छ ।

पाँचजना निर्विरोध निर्वाचित

एनएमएको नयाँ नेतृत्वका लागि पाँचजना निर्विरोध निर्वाचित भएका छन् । संस्थागततर्फ एक र आरोहीहरुको तर्फबाट (रातो बुक होल्डर) चार गरी पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा क्रमशः पासाङ भोटे शेर्पा, आङ्दाबा शेर्पा, मिङमा डेबिट शेर्पा, नवङनर्बु शेर्पा र कपिल पाण्डे रहेका छन्।


क्लिकमान्डु