दोस्रोपटक भोट हालेपछि भरतपुर १९का मतदाताले भने : हाम्रो मत खेर नजाओस्



चितवन । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आइन ।

उहाँ आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भनिन्, ‘दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।’ उनले एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ । यहाँका मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका छन् ।

अन्य रोपाइँ भएकाहरु पनि फुर्सद मिलाएर आएको बताएका छन् । “जे नहुनु भै त हाल्यो, के भन्नु र, हामीलाई सुविधा चाहियो, त्यही हो”, लीलाले थपिन् ।
बिहानैदेखि परेको पानीका कारण बिहान ७ बजे निकै कम मतदाता मतदानस्थलमा देखिए पनि क्रमशः बढ्दै गएर उत्साह देखिएको हो ।

तीन स्थानमा रहेका छवटा मतदान केन्द्रमा बिहान ११ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान भएको शारदानगर उमावि मतदान केन्द्रका मतदान अधिकृत गंगाधर रिमालले बताए । उनका अनुसार ११ बजेसम्म कुनै मतदान केन्द्रमा ४५ प्रतिशतसम्म र कुनैमा ३५ प्रतिशत हाराहारी मतदान भएको छ ।

त्रिपन्न वर्षीया सन्तमायाँ गुरुङले पनि यो दोस्रोपटक भोट हालिन् । खुसी छु, किन दुःखी हुनुपर्यो र अब, गुरुङले भनिन्,“राम्रो होस्, राम्रो गर्नु, विकास गर्नु, त्यही हो मेरो भन्नु ।”

उनले जितेर गएपछि वास्तै नगर्ने नेताहरुको बानी रहेको भन्दै दुःखेसो गरिन् । अहिलेसम्म अन्योलमा बस्नुपरेकाले दुःख लागेको भन्दै मतदाताले निकास हुन्छ र विकासले फड्को मार्छ भनेर भोट हाल्न आएको बताइन् ।

बिहानभरि पानी परे पनि ९ बजेपछि भने केही रोकिएको थियो । मतदानस्थलमा विभिन्न क्षेत्रका पर्यवेक्षकको उपस्थिति बाक्लै रहेको छ । पत्रकारहरु पानीको परवाह नगरी समाचार संकलन गरिरहेका थिए ।

भरतपुर–१९ का ८३ वर्षका धनमान गुरुङ पनि मतदान गर्न आए । छोरा सुर्जबहादुर गुरुङले उनले बोकेर ल्याएका थिए । उनले पौने १० बजे भोट हालेर फर्के । युवादेखि वृद्धवृद्धासम्म भोट हाल्न आएका थिए ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण पनि यहाँका मतदाता प्रभावित भएका छन् । काठमाडौँ, पोखरालगायतका स्थानबाट मतदान गर्न आएका धेरै मतदाता मुग्लिनमा नै रोकिएका छन् । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले काठमाडौँबाट दुईवटा माइक्रोबसमा आएका मतदाता पहिरोका कारण मुग्लिनमा नै रोकिएको जानकारी दिए ।

नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले कामको व्यस्तता, झरी र हिलो पार गर्दै उत्साहजनकरुपमा मतदान गर्न सर्वसाधारण आइरहेको बताउँदै यो उत्साह राम्रो भएको बताए । उनले जनता जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जनप्रतिनिधि छान्न आतुर रहेको देखिएको प्रतिक्रिया दिए ।

माओवादी केन्द्रका तर्फबाट भरतपुरको प्रमुख पदका उम्मेदवार रेणु दाहालले दोस्रोपटक पुनः मतदान हुँदा पनि मतदाता उत्साहजनकरुपमा मतदानमा सहभागी भएको बताइन् । घरायसी कामको दबाब र मौसमको प्रतिकूलतालाई चिर्दै सर्वसाधारण मतदानमा भाग लिएको उनको भनाइ छ ।

काँग्रेस उपप्रमुखका उम्मेदवार पार्वती शाहले भनिन्,’पहिले मतदाताले राम्ररी बुझ्न नसकेकाले समस्या भएको आवेशमा गल्ती पनि भयो, अब गल्ती हुँदैन भन्ने मतदाताको भनाइ छ ।’ नहुने घटना भएपछि अब अहिले राम्रो भएको उहाँको भनाइ छ ।

मतदानस्थलको एकसय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापा बताए ।

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ । किरण मावि किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कूल तीन हजार ७९७ मतदाता छन् ।

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज निर्वाचन भएको हो । रासस


क्लिकमान्डु