भारतीय सिमेन्टको आयात बन्द हुँदा नेपाली सिमेन्टको माग बढ्यो



धनगढी। प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ ।

सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तरीयताको परीक्षणपश्चात् दिने प्रतिवेदनका आधारमा मात्रै भारतीय सिमेन्टको आयात सञ्चालन हुन सक्ने भन्सार अधिकृत नारायणदत्त जोशीले बताए ।

यसअघि सम्म आइएसओको प्रमाणपत्र र ‘ल्याब टेस्ट‘का आधारमा भारतीय सिमेन्ट पैठारी हुने गरेकामा चालु आवदेखि सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ल्याब टेस्टको प्रतिवेदन अनिवार्य व्यवस्था गरिएको बताइएको छ । भारतीय सिमेन्टको आयात रोकिए पनि यहाँ सिमेन्टको अभाव भने छैन ।

माग अनुसारको नेपाली सिमेन्ट बजारमा प्रशस्त रहेको सिमेन्ट बिक्रेता व्यापारीले बताएका छन् । यो व्यवस्थासँगै नेपालका सिमेन्ट उत्पादक कम्पनीको संरक्षणमा योगदान पुग्ने देखिएको छ । नेपाली सिमेन्टको मूल्य र गुणस्तर भारतीय सिमेन्टको तुलनामा राम्रो र सस्तो रहेकाले यसको माग पनि ह्वात्तै बढेको स्थानीय व्यापारी शंकरप्रसाद तिवारी बताउँछन ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले भारतबाट सिमेन्ट पैठारी गर्न जरुरी नरहेको तिवारीले बताए। यद्यपि विभिन्न भौतिक संरचना निर्माण कार्यमा संलग्न ठेकेदार र इञ्जिनियर कतिपयले भारतीय सिमेन्ट उत्पादक कम्पनी र तिनका एजेन्टसँग गर्ने गरेको मिलेमतोकै कारण निर्माण कार्यमा भारतीय सिमेन्टकै प्रयोग गर्न सिफारिस गर्ने गरेको बताइन्छ ।

यस क्षेत्रमा हरेक संरचनाको निर्माणमा भारतीय सिमेन्ट प्रयोग हुँदै आएकामा पछिल्लो एक दशकदेखि नेपाली सिमेन्टले बजार लिएको छ । नेपाली सिमेन्टले बजार लिन थालेपछि भारतीय सिमेन्टको प्रयोग पनि बर्षेनी घट्दै गएको छ ।

तर पनि गत आव ०७३/७४ मा कैलाली भन्सार नाकाबाट करिब २८ करोड ८५ लाख ८९ हजार रुपैयाँ मूल्य बराबरको तीन करोड १६ लाख ५२ हजार ४०० किलो भारतीय सिमेन्ट भित्रिएको भन्सार कार्यालयको तथ्याङ्कमा जनाइएको छ ।


क्लिकमान्डु